गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पुनर्निर्माण कार्यमा स्थानीयको सहयोग र निर्माणाधीन आवासमा अपनत्व जगाउन गोरखाको लाप्राकमा निर्माणाधीन बस्तीका भूकम्पपीडितलाई चिट्ठामार्फत घर छुट्याइ दिएको छ।
एनआरएनएसँग एक वर्षअघि घर निर्माणसम्बन्धी सम्झौता गरेका भूकम्पपीडित परिवारलाई चिट्ठामार्फत आ–आफनो घर छुट्याइ निर्माणमा सहयोग गर्न आग्रह गरिएको हो। सम्झौतामा घरको जगमा केही सामग्री उपलब्ध गराउनुपर्ने उल्लेख छ। घरको स्वामित्व छुट्याउन गोरखाको लाप्राक पुगेका एनआरएनए अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली दिवसको अवसरका औपचारिक हस्तान्तरण गर्ने लक्ष्य राखेर निर्माणमा उत्साह थप्न घरधनीलाई स्वामित्व हस्तान्तरण प्रकृया थालिएको बताए।
‘अहिले घर आधिकारिक रूपमा हस्तान्तरण गरेकोभन्दा पनि पुनर्निर्माणमा भूकम्पपीडितको आफ्नोपन होस् भनेर छुट्याइएको हो,’ अध्यक्ष भट्टले भने, ‘पुनर्निर्माणमा आफ्नो घरमा लाभग्राहीको थप सहयोग हुने अपेक्षा गरेका छौं।’
निर्माणाधीन ५ सय ७३ वटा घर निर्माण सम्पन्न हुने बित्तिकै हस्तान्तरण गर्ने गरी हाललाई छुट्याइएको हो।
‘आफ्नो निर्माणाधीन भवन र लाप्राक नमूना बस्ती मेरो पहिलो प्राथमिकता हो र त्यसका लागि हामी दिन रात नभनी यसमा खटेका छौं ,यसपछि अन्य थुप्रै योजना अगाडि बढेका छन्,’ भट्टले भने।
एनआरएनए महिला उपाध्यक्ष सपिला राजभण्डारीले अक्टोबरमा रहेको एनआरएनए डेका अवसरमा लाभग्राहीलाई हस्तान्तरण गर्ने गरी निर्माण समाप्त गर्ने गरी अहिले धमाधम काम भइरहेको बताइन्।
एनआरएनएले पुनर्निर्माणका लागि काठ सहयोग गरी दिन लाभग्राहीसँग सम्झौता गरेको थियो। सोही सम्झौताअनुसार आफूले पाउने घरप्रति अपनत्व होस् र पुनर्निर्माणमा सहयोग पुगोस् भनेर अहिले नै घर हस्तान्तरण गर्न लागिएको हो।
हाल निर्माण गरिएका घर क्लस्टरअनुसार छुट्याइएको छ। नमूना बस्तीमा ‘ए’ देखि ‘पी’ सम्मका क्लस्टर छन्। हरेक क्लस्टरमा फरक–फरक खालमा घर छन्।
चिट्ठा प्रक्रिया निष्पक्ष होस् भनेर गाउँपालिका, नेपाली सेना र एनआरएनएले छनोट भएका घर र सेवाग्राहीको नाम राख्ने व्यवस्था मिलाइएको छ। तीन वटा निकायले नाम राखेका र अनुगमन गरेको कारण पनि निष्पक्ष रूपमा बाँडफाँट हुने एनआरएनएको भनाइ छ। नागरिकता, भूकम्प पीडित कार्ड र सम्पर्क ठेगाना लिएपछि निर्माण सम्पन्नपछि मात्र आधिकारिक रूपमा हस्तान्तरण गर्ने योजना बनाइएको छ।
संघले लाप्राक नमूना बस्ती गुरुयोजना, घरको डिजाइन र लागतबारे समेत यसअघि नै स्थानीयवासीलाई जानकारी गराइसकेको छ। नेपाल सरकारले बनाएको मापदण्डअनुसार तयार पारिएका यी घर भूकम्प प्रतिरोधी र स्थानीय परम्परा झल्किने खालका रहेका छन्। यस अभियानमा स्थानीय, एनआरएनए र नेपाली सेनाको निरन्तर सहयोग रहँदै आएको छ।