दाङमा बसको ठक्करबाट एकजना व्यक्तिको मृत्यु भएको छ।
शौच गर्न जाँदा आवश्यक सावधानी नपनाउँदा बसको ठक्करबाट तनहुँका एकजना व्यक्तिको दाङमा मृत्यु भएको हो।
तनहुँ जिल्लाको रिसिङ गाउँपालिका वडा नम्बर ६ निवासी ६१ वर्षीय यामबहादुर थापाले आवश्यक सावधानी नपनाइ शौचका लागि जाँदै गर्दा तीव्र गतिको बसले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
थापा दाङको तुलसीपुरमा छोरालाई भेट्न तुलसीपुर आउँदै थिए। बसले दिसा पिसाबको लागि लमही नगरपालिका वडा नम्बर १ को सुनडवरीमा सोमबार बिहान साढे चार बजे यात्रु झारेको र त्यही समयमा थापालाई तीव्र गतिमा आइरहेको अर्को बसले ठक्कर दिँदा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख सुरज खड्काले जानकारी दिए।
‘राजमार्गमा अपनाउनुपर्ने आवश्यक सावधानी अपनाएको देखिएन, शौच गर्न जाँदा थोरै ख्याल गरिदिएको भए यो दुःखद दुर्घटना हुने थिएन,’ प्रहरी निरीक्षक खड्काले भने।
पोखराबाट तुलसीपुरतर्फ आउँदै गरको ना ५ ख ३१०१ नम्वरको बसले उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते थापालाई लमही अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ। बसका चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।