बारूद ब्लाष्ट गरि माछा मार्न खोज्दा दाङमा एक जना जनप्रतिनिधि गम्भीर घाइते भएका छन्। बबई गाउँपालिका वडा नं. १ मलैखोला निवासी ३५ बर्षीय कमल घर्ती बारूद ब्लाष्ट हुँदा गम्भीर घाइते भएका हुन्।
ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रयाग नारायण चौधरीका अनुसार आइतबार दिउँसो स्थानीय बबई नदीमा ब्लाष्ट गरि माछा मार्ने क्रममा बारुद विष्फोट हुँदा वडा नं. १ का वडा सदस्य घर्तीको हातका दुबै पञ्जा चुडिएको जानकारी दिए।
घर्ती नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन्। बारूद ब्लाष्ट हुँदा वडा सदस्य घर्ती गम्भीर घाइते भएको खबर आएपछि आफूहरू आइतवार बेलुका ६ बजे बबई नदीको भालुखोलास्थित घटनास्थल पुगेर घर्तीको उद्धार गरि राप्ती अञ्चल अस्पताल तुलसीपुर उपचारका लागि पठाएको ईप्रका हापुरेका सइ चौधरीले बताए।
घाइते वडा सदस्य घर्तीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुर दाङको प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै नेपालगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ।
वडा सदस्य घर्तीले माछा मार्न खोजेको बबई गाउँपालिका वडा नं. १ को क्षेत्र बाँके निकुञ्ज क्षेत्रमा पर्छ। त्यहाँ माछा मार्न पाइदैन। तर, वडा सदस्य घर्ती प्रतिवन्धित ठाउँमा विष्फोट गराएर माछा मार्न खोज्दा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा अन्य मानिस रहे पनि उनीहरु भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।