कमलपोखेरीस्थित सिटी सेण्टरमा शुक्रबार एक सुरक्षा गार्डको हत्या आफ्नै साथीले गरेको खुलेको छ।
२६ वर्षीय रवीन खवास भुजेलको उनकै साथी दोलखाका रुद्र बस्नेतले हत्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहनबहादुर थापाले जानकारी दिए।
मृतक रवीन र अभियुक्त रुद्र २ वर्षदेखि सिटी सेण्टरको बिग मूभिज ग्रुप फोर सेक्यूरिटी कम्पनीमा गार्डको रूपमा काम गर्दै आएका थिए।
घटना भएको दिन दुबै जना ड्यूटीमा रहेको र मदिरा सेवन गरी साथीको हत्या गरेको प्रहरीले जनाएको छ।
रुद्रले रवीनको घाँटी थिची चार तलामाथिबाट फ्यालेको देखिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका रुद्र बस्नेतलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।