मानव बेचबिखनमा मुद्दा चलिरहेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पूर्पक्षका लागि जेल चलान भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थियो।
उनलाई सुन्धारा केन्द्रीय कारागरमा राखिएको छ।
खड्गीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो।
कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका ११ नेपाली उतै लुकेपछि कोरियन दूतावासको उजुरीमा खड्गीलाई प्रहरी पक्राउ गरेको थियो।
उजुरी पछि मुख्य नाइके एवम् उनीहरुलाई कोरिया भिसा लगाउँदा जमानी बसेका खड्गीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको ब्यूरोका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए।
केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहँदा सेतोपाटीसँग कुरा गर्दै खड्गीले आफ्ना गुरूको डकुमेन्ट्री बनाउने क्रममा आफ्ना साथीहरूले धोका दिएकाले आफू जेलमा बस्नुपरेको खड्गीले बताएका थिए।
कोरिया गएर उतै लुकेकाबाट आफूले एक पैसा पनि नलिएको खड्गीको दाबी थियो।
‘कोरिया लुकेका ११ जनाबाट मैले एक पैसा खाएको छैन, उनीहरुले मेरा लागि भनेर एक पैसा पनि दिएका छैनन्, डकोमेन्ट्रको प्रोडुसर उनीहरू पनि हुन्, बिचैमा धोका दिए के गर्नू?’ उनले भने।