अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज (आइतबार) गरेको शैक्षिक आमहड्ताल दाङमा भने फिर्ता लिएको छ।
उक्त संगठनले देशव्यापी रूपमा शैक्षिक संस्था आमहड्ताल आह्वान गरेको भएपनि दाङको बन्द भने फिर्ता लिएको हो। दाङमा फागुन २७, २८ र २९ गते अखिल क्रान्तिकारीको सम्मेलनलाई मध्यनजर गर्दै आमहड्ताल फिर्ता लिइएको जानकारी दिइएको छ।
कतिपय विद्यालयमा परीक्षा चलिरहेको हुँदा दाङको हकमा भने शैक्षिक आम हड्ताल फिर्ता लिइएको एकजना विद्यार्थी नेताले नाम उल्लेख नगर्ने सर्तमा बताए।
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन क्रान्तिकारीले आफ्नो विद्यार्थी नेताको रिहाइको माग गर्दै दाङ बाहेक आज देशव्यापी शैक्षिक आमहड्ताल आह्वान गरिएको जानकारी दिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले हस्ताक्षर गरेको विज्ञप्तिमा त्यस्तो कुरा उल्लेख छ।