छुट्टाछुट्टै घटनामा तीन व्यक्तिले ज्यान गुमाएका छन् भने एक व्यक्ति बेपत्ता भएका छन्। भकतपुरमा सडक दुर्घटनामा एक मोटरसाइकल चालकले ज्यान गुमाए भने रूखबाट लडेर झापामा अर्का व्यक्तीको निधन भएको हो। त्यस्तै आगलागीमा परि कपिलवस्तु, जीतपुरमा एक बालिकाको मृत्यु भएको छ भने सुनकोशीमा नुहाउने क्रममा खोटाङ एक टिपर चालकको डुबेर बेपत्ता छन्।
मोटरसाइकल दुर्घटनामा म बा.९२प.४६४ नंको मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंका अनुसार काठमाडौँबाट जगातीतर्फ जाँदै गरेको बा.९२प. ४६४ नंको मोटरसाइकल र बा.६१प. ४१५ नंको मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा श्रेष्ठको मृत्यु भएको र अर्को बा.६१प. ४१५ नंको मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।
यस्तै शनिबार झापाको बिर्तामोड नगरपालिका–७ मा वारघरे निवासी ६२ वर्षीय मानबहादुर तामाङको रूखबाट खसेर मृत्यु भएको हो। प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार। घर नजिकै रहेको रूखमा घाँस काट्ने क्रममा लडेको र उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुर्याएलगत्तै उनको मृत्यु भएको हो ।
त्यसैगरी शनिबार नै विजयनगर गाउँपालिका–७ मानपुर डाँडाको एक घरमा आगलागी हुँदा दुई वर्षिया बालिकाको मृत्यु भएको हो । अबहोरी यादवको फुसको घरमा बालेको आगो ननिभाउँदा हावाहुरीले आगो यादवकी दुई वर्षीया नातिनी राजकुमारी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए।
बालिकालाई घरभित्र सुताएर बाहिर काममा निस्केका परिवारले घरमा आगो लागेको थाहा पाए पनि आगो नियन्त्रणमा आउन नसकेपछि बालिकालाई बचाउन सकेनन् । आगलागीबाट घरमा रहेका सात बाख्रा पनि जलेर मरेका छन् भने ३० हजार नगदसहित तीन लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले बताएको छ । गाउँपालिका भए पनि दमकल नहुँदा आगो नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । स्थानीय समुदाय र प्रहरीको सक्रियातामा आगलागी नियन्त्रणमा आएको थियो ।
यसैगरी महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा शुक्रबार डुबेर बेपत्ता भएका छन् । कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् ।
बुढाथोकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको साप्सु दोभानबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । प्रहरीका अनुसार बुढाथोकी बालुवा लिनका लागि नदीमा पुगेको समयमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता भएका हुन् ।
बेपत्ता बुढाथोकीको खोजीका लागि प्रहरी चौकी भण्डारेघाटका प्रहरी टोली परिचालन गरिएको छ।