काठमाडौं बाट दाङमा अध्यनका लागि आएका एकजना विद्यार्थीको राप्ती नदीमा डुवेर मृत्यु भएको छ ।
काठमाडौं, नयाँ वसपार्क गोङ्गबु निवासी २२ बर्षीय सुदिप लम्सालको राप्ती नदीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् ।
शुक्रवार दिउँसो होली खेलि सकेपछि राप्ती नदीको बलरामपुर घाटमा साथीहरुसँग नुहाउन गएका लम्साल भुमरीमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । लम्साल दाङ देउखुरीस्थित पृथु टेक्निकल कलेज चौथो सेमेस्टरमा अध्यनरत थिए ।
प्रहरीले लम्सालसंगै नुहाउन गएका थप आठजना साथिहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएपनि उनीहरु सबै निर्दोष पाइएपछि छोडिएको बताएको छ ।
यसैबीच मृतक लम्सालका अभिभावक शनिवार दाङ आएर शव बुझेको प्रहरीले जानकारी दिएको छ ।