फागु पूर्णिमा अर्थात् होली पर्व तराई क्षेत्रमा शुक्रबार धुमधामका साथ मनाइएको छ।
मेलमिलाप र सद्भावको सन्देश लिई आउने रङहरूको पर्व फागु पर्व पहाडी क्षेत्रमा बिहिबार मनाइए पनि तराई क्षेत्रमा भने शुक्रबार मनाइएको हो।
बुटवल लगायत आसपासको तराई क्षेत्रमा बसोबास गर्नेहरू अधिकांश पहाडी क्षेत्रबाट नै बसाई सरी आएको कारण बालबालिका तथा युवायुवतीहरू बिहिबारदेखि नै होलीमा रंगिएका थिए।
बसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने होली पर्वलाई सद्भाव र आत्मीयता साटासाट गर्ने पर्वको रूपमा लिइन्छ। परम्परागत रूपमा एकआपसमा विभिन्न रङ र पानी खेली यो पर्व मनाइने गरिन्छ।
तराईका सबैजसो स्थानमा एक आपसमा रङ लगाउँदै नाचगान गरेर होली पर्व मनाइएको छ। नेपाल पत्रकार महसंघ रुपन्देहीले पनि विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि होली मिलन कार्यक्रम सम्पन्न गरेको छ।
रुपन्देहीका सम्पूर्ण पत्रकारहरूको उपस्थितिमा पत्रकार महासंघको परिसरमा होली मिलन कार्यक्रम गरिएको हो।
एक आपसमा भाईचारा स्थापित गर्ने र होलीलाई मिलनको पर्वको रूपमा मनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा प्रदेशनम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलबहादुर केसीलाई होलीको रङ लगाइदिएर होली मिलन कार्यक्रम शुभारम्भ गरिएको थियो।
सो अवसरमा मन्त्री केसीले अब पर्वलाई वर्गिकरणका आधारमा मनाउनुपर्ने बताए। उनले प्रदेश नम्बर ५ मा कुन पर्वलाई मनाउने भन्ने बारेमा कानून बनाउने तयारीमा रहेको समेत बताए।
मन्त्री केसीले पाँच नम्बर प्रदेशका १२ वटै जिल्लालाई समेटेर प्रादेशिक सञ्चार प्रतिष्ठान गठन गर्ने विषयमा समेत मन्त्रालयमा छलफल भइरहेको बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले पत्रकार महासंघले सबै संघसंस्था र पत्रकारहरूका बीचमा भेटघाट गर्ने उद्देश्यले होली मिलन कार्यक्रम गरिएको बताए।
होली मिलनमा प्रदेश सांसद, रुपन्देहीका विभिन्न उद्योगी व्यवसायिक संघसंस्थाका प्रतिनिधि, सञ्चारसम्बद्ध संस्था र पत्रकारहरूको उपस्थिति रहेको थियो।
होली मिलनका अवसरमा घैटो फोर तथा लुम्बिनी टेलिभिजनले विशेष सांगीतिक प्रस्तुति देखाएको थियो।
यस्तै, बुटवलको ट्राफिक चोक, पुरानो बसपार्क, राजमार्ग चौराह, योगिकुटी, भैरहवाको देवकोटा चोक, कोटिहवा, मुर्गिया लगायतका क्षेत्रमा उल्लासमय रूपमा होलीपर्व मनाइएको छ ।