महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता ‘सुराकी’ को रूपमा खटाएको छ।
अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए।
एसएसपी पोखरेलले भने, ‘हामीले केही युवासँग सम्झौता गरिसकेका छौं। केही समयमा नै सूचना आउन थाल्छ भन्ने आशा छ।’
राजधानीमा विभिन्न पेशा, संस्था र विद्यालयमा आबद्ध युवालाई ‘खबरी’को रूपमा परिचालन गर्न लागिएको हो। प्रहरीलाई अपराध र फरार अभियुक्तको बारेमा जानकारी दिने युवालाई पुरस्कृत गरिने एसएसपी पोखरेलले बताए।