आज तराई क्षेत्रमा होली हर्षोल्लासका साथ मनाइँदैछ।
बिहिबार देशका पहाडी जिल्लाहरूमा होली पर्व मनाइएको थियो। आज तराईका जिल्लाहरूमा मनाउन लागिएको हो ।
परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ ।
सरकारले होली पर्वकै अवसरमा आज तराईका जिल्लाहरूमा बिदा दिएको छ। जनकपुरमा भने भोलि मात्र होली मनाइने भएको छ।
मिथिलाञ्चलको महाकुम्भ मानिएको १५ दिने मिथिला माध्यमिकी परिक्रमा सकिएको भोलिपल्ट यसक्षेत्रमा होरी मनाइने परम्परा छ ।
माध्यमिकी परिक्रमाको अन्तिम दिन आज लाखौँ श्रद्धालुले जनकपुरधामको पाँच कोसको परिक्रमा सम्पन्न गरेका र सोहीअनुसार यस क्षेत्रमा होरी भोलि मनाइने भएको हो। पन्ध्रदिने परिक्रमा नेपालको १०८ किलोमिटर तथा भारतको २७ किलोमिटर पैदल यात्रामा लाखौँ साधु सन्त, गृहस्थ तथा श्रद्धालुको सहभागिता थियो ।
मिथिला माध्यमिकी परिक्रमालाई नेपाल भारतको सांस्कृतिक सेतु पनि मानिएको छ । सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारत गरी दुई चिरामा विभाजित गरे पनि नेपाल र भारत मैत्रीको प्रतीक मिथिला परिक्रमामा भने कुनै आँच आएको छैन ।