दाङमा यतिबेला धमाधम पुल निर्माणको काम भइरहेको छ। कुनैबेला देशकै राजधानी र कुनैबेला प्रदेश राजधानीको चर्चा पाएको दाङमा अहिले भने पुल निर्माणका कामले चर्चा पाइरहेको छ।
दाङलाई सुगम जिल्लाको रूपमा अर्थ्याइने गरेतापनि उपयुक्त विकास तथा भौतिक पूर्वाधार निर्माण नुहँदा नाम मात्रैको सुगम जिल्ला थियो। तर पछिल्लो समय दाङमा विकासले तीव्रता पाउन थालेको छ। धमाधम सडकको स्तरोन्नति,भौतिक पूर्वाधार निर्माण र पुल निर्माण गर्न थालिएको छ।
दाङका विभिन्न स्थानमा एकैसाथ झन्डै तीन दर्जन जति पुलहरू निर्माण भइरहेका छन्। दाङका विभिन्न नदी तथा खोलाहरूमा पुल नहुँदा वर्षातको समयमा आवात जावातमा ठूलो समस्या हुने गर्छ। गाउँ र सहरसँगको सम्बन्धविच्छेद हुन पुग्छ । त्यसको अन्त्य गर्नका लागि आफूहरूको पहलमा धमाधम पुल निर्माणको काम अगाडि बढेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले बताए।
हाल जिल्लामा निर्माणाधीन पुलको संख्यालाई आधार मान्ने हो भने अबको केही वर्षमा दाङ पुलहरूले जोडिने आशा गर्न सकिने नेता गिरीले बताए। जिल्लाका झन्डै तीन दर्जन नदी र खोलाहरूमा पुल निर्माण भइरहेको तथा केही स्थानमा झुलुङ्गेपुल निर्माणको काम पनि अगाडि बढेको गिरीले बताए।
तर, जिल्लामा हाल निर्माणाधीन कतिपय पुल भने २०७२ मै निर्माण सम्पन्न भइसक्नुपर्ने भएपनि अझै निर्माण पुरा भएका छैनन्। निर्माण कम्पनीको लापरवाहीले पुल निर्माणमा विलम्ब भइरहेको मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले सेतोपाटीलाई बताए। पुल निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीले सम्झौता अनुसार काम सम्पन्न नगर्दा नागरिकले सास्ती पाएको गौतमले बताए। मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङले आफ्नो कार्यालयमार्फत यो वर्ष दाङमा २० वटा पुल निर्माण भइरहेको सूचना अधिकारी गौतमले बताए।
डिभिजन कार्यालयल दाङमा कहाँ–कहाँ पुल निर्माण हुँदैछन् ?घोराही–लमही सडकखण्डको बबई नदी, धारापानी जोड्न बबई नदी, ढिकपुरको बबई नदी, गुर्जे खोला, संग्राम खोला, पत्रे खोला,कटुवा खोला, मायाखोला हेकुली, संग्राम खोला, हापुरखोला कोठरी कोट्याडाँँडाँ, सिक्रहवा प्रनाहा खोला गढवा, करुंगा खोला कालाखोला सिसहनीया, गहते खोला, तुइसोता गिधनीया फूलबारी, ककरहवा खोला गढवा, हापुर खोला आँखा अस्पताल निगुवा बगीया माथिल्लो सडक, सेवार खोला नयाँ बसपार्क घोराही, हापुर खोला (तल्लो) पुल निर्माण भइरहेको सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए।
कार्यालयका सूचना अधिकारी गौतमका अनुसार यो आर्थिक वर्षमा जिल्लामा २० वटा पुल निर्माण भइरहेका छन्। जसको कुल लागत करिब १ अर्ब ४७ करोड बढी रहेको गौतमले बताए।
पुल महाशाखा अन्तरगत निर्माणाधीन पुलहरूपुल महाशाखा अन्तरगत राप्ती नदीमा मात्रै एकैसाथ तीन वटा पुल निर्माण भइरहेका छन्। त्यसैगरी, बबई नदीको हेकुली गोल्टाकुरी जोड्ने बैबाङमा पुल निर्माण भइरहेका छ भने बबई नदीकै मठ्यौरा, बबई नदीकै लुहाडबरा, ग्वार खोलाको कपडादेबी मजगाँउ, तुलसीपुर–घोराही सडकखण्डको ग्वारखोला, पातु खोलाको सुकौरा–सुकदेवा सडक खण्डमा गरि पुल महाशाखा अन्तरगत जिल्लामा यो आर्थिक वर्षमा ८ वटा पुल निर्माण भइरहेको कार्यालयका इञ्जिनियर सबिना रानाभाटले जानकारी दिइन्। उनले ८ वटा पुलको कुल लागत करिब ३ अर्ब रहेको जानकारी दिइन्।
जिल्ला प्राविधिक कार्यालयमार्फत निर्माणाधीन पुलहरूजिल्ला प्राविधिक कार्यालयले पनि दाङमा पुल निर्माण गरिरहेको छ। प्राविधिक कार्यालयले सिंग्रवा खोला (गढवा),भालुदोन्द्रे खोला (गंगापरस्पुर), सर्रा–धर्ना सडक खण्डको सौंडियारको बबई नदी, चिराघाटखोला श्रीगाउँमा गरि चालू आर्थिक वर्षमा जिल्ला प्रविधिक कार्यालयबाट कुल ४ वटा पुल निर्माण भइरहेको इञ्जिनियर बासुदेव भण्डारीले बताए। उनले निर्माणाधीन ४ वटा पुलको कुल लागत १८ करोड बढी रहेको जानकारी दिए।