दाङमा डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ।
दाङ लमहीस्थित फ्लोरेन्स अस्पताल प्रालिले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो। जसलाई जिल्ला एम्बुलेन्स सञ्चालन समितिले स्वीकृति प्रदान गरिसकेको छ।
लमही नगरपालिका वडा नम्बर ५ बाट सेवा दिँदै आएको निजी अस्पतालले करिब २० लाख रुपैयाँको लागतमा एम्बुलेन्स सञ्चालनमा ल्याएको जानकारी दिएको छ। एम्बुलेन्समा डाक्टरसहित ईमरजेन्सी औषधी, मुटुको चाल थाहा पाउने मेसिन, फोक्सोलाई दिइने कृत्रिम अक्सिजन, नेबुलाईजर, रक्तचाप जाँच्ने व्यवस्थासहितको सुविधा रहने अस्पतालका डा. पुष्प भुसालले जानकारी दिए।
यस प्रकारको ‘क’ वर्गको एम्बुलेन्स ५ नम्बर प्रदेशमा यो नै पहिलो भएको अस्पतालले दाबी गरेको छ। एम्बुलेन्समा डाक्टर र औषधीसहितको व्यवस्था भएपछि गम्भीर प्रकृतिका बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
जिल्ला एम्बुलेन्स सञ्चालन समितिमा परेको निवेदन अनुसार समितिको सिफारिसमा भन्सार छुट गरि एम्बुलेन्स ल्याइएको जानकारी दिइएको छ। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र समितिका सदस्य सचिव जनस्वास्थ्य प्रमुख घनश्याम पोखरेलले एम्वुलेन्सको निरीक्षण गरेर सञ्चालनको स्वीकृति प्रदान गरेका हुन्।
यसैबीच, अन्य एम्बुलेन्सहरूले लिँदै आएको भाडादरमा सेवा दिने डा. भुसालको बताएका छन्।