दाङको बेलझुण्डीस्थित रंगशाला निर्माणको लागि ३४ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
तुलसीपुर–१९ वेलझुण्डीस्थित खेलकुद विकास समितिको कार्यालय परिसरमा रंगशाला निर्माण गरेर जिल्लाको खेलकुद विकास गर्नका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिइएको छ। दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले राष्ट्रिय खेलकुद परिषद्ले रंगशाला निर्माणको लागि ३४ करोड रुपैयाँ बजेट आएको बताए।
बजेट निकास भएपछि खेलकुद परिषदले बेलझुण्डीमा रंगशाला निर्माण गर्नका लागि टेण्डरसमेत आह्वान गरिसकेको अध्यक्ष डाँगीले सेतोपाटीलाई बताए। टेण्डरमा ३ वर्षदेखि १० वर्षसम्ममा रंगशाला निर्माण गरिसक्ने उल्लेख छ। तर, पहिलो चरणमा ट्याक निर्माण, फिल्ड निर्माण र प्याराफिट निर्माणको काम भने आगामी मंसिर मसान्तसम्म सक्नुपर्ने सर्त राखिएको छ।
रंगशालाभित्र ४०० मिटर एथेलेटिक्स रनिङ ट्रयाक, ६५ मिटर चौडाई र १०० मिटर लम्वाईको फुटवल फिल्ड निर्माण लगायतका भौतिक पूर्वाधार निर्माण गर्ने उल्लेख छ। रंगशाला निर्माणस्थल बेलझुण्डीमा जिल्ला खेलकुद विकास समितिको नाममा १५ बिगाहा जग्गा रहेको हुँदा त्यहाँ पूर्वाधार निर्माणको लागि जग्गाको अभाव नहुने विकास समितिका अध्यक्ष डाँगीले बताए। रंगशाला निर्माण गर्ने भनिएको क्षेत्रमा २०४२ सालमा निर्मित मिनी कवर्डहल पनि छ। त्यसलाई भत्काएर नयाँ संरचना निर्माण गरिने अध्यक्ष डाँगीले बताए।
यसैबीच, बेलझुण्डीमा रंगशाला निर्माण हुने भएपछि जिल्लाका खेलाडी र खेल प्रेमीहरू खुसी भएका छन्। कुनैदिन खेल क्षेत्रमा स्वर्णिय इतिहास बोकेको भएपनि पछिल्लो समय आवश्यक पूर्वाधार र संरचना नहुँदा खेल प्रतिको विकर्षण ह्वात्तै घट्दै गएको समयमा रंगशाला निर्माणको लागि बजेट विनियोजनको कुराले आफूजस्ता खेलाडीहरू खुसी भएको कराँतेका एकजना प्रशिक्षक पदम केसीले बताए। खेलको विकासमा राज्यले उचित ध्यान दिन नसकेको हुँदा खेल प्रतिको आकर्षण घटेको बताएका केसीले रंगशाला निर्माण भएमा त्यसले जिल्लाको खेल क्षेत्रको विकासमा टेवा पुग्ने बताए।
‘खेल क्षेत्रमा राज्यको लगानी अत्यन्तै न्यून छ, खेलप्रति युवाको आकर्षण बढेमा मात्रै युवाहरू कुलतबाट जोगाउन सजिलो हुनेछ,’ केसीले भने।
हालसालै राष्ट्रिय फुटबल सम्पन्न गरेको दाङले २०७५ सालमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समेत आयोजना गर्ने जिम्मेवारी पाएको हुँदा थप संरचनाहरू निर्माण गर्न आवश्यक रहेको बताए। जिल्लाका ठूला सहरहरू घोराही र तुलसीपुरको बीच भाग बेलझुण्डीमा रंगशाला निर्माण हुन सकेमा त्यसले जिल्लाको खेल क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने प्रशिक्षक केसीले बताए।