दोलखा बिनु गाँउपालिका ४ सिंगटी बजारस्थित सेतीदेवी मन्दिरमा लागेको जात्रामा भएको झगडा नियन्त्रणमा गएको प्रहरीको वाकीट्वाकी लुटिएको छ।
जात्रामा स्थानीय विराज श्रेष्ठ र सरोज ठकुरीबीच झगडा गरेको र श्रेष्ठको गल्ती देखेर प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयले प्रहरीको सेट लुटेर फरार भएको प्रहरीले जनाएको छ।
स्थानीयले लुटेको प्रहरी सञ्चार सेट नजिकैको खोलामा फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रमेश प्रधानले जानकारी दिए।
उनका अनुसार बुधबार साँझ जात्रामा विवाद हुँदा प्रहरीले विराज श्रेष्ठलाई नियन्त्रणमा लिन खोजेको थियो।
स्थानीयले प्रहरीलाई अवरोध गरेपछि झडप भएको र स्थानीयले प्रहरीको सेट थुतेर भागेका थिए।
लुटिएको सेट नजिकैको खोलामा फेला परेको र फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक प्रधानले सेतोपाटीलाई जानकारी दिए।