ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाको विरुद्धमा सामाजिक सञ्जालमा मनपरी ‘स्ट्याटस’ लेखेको आरोपमा एकजना युवा पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भमके निवासी १९ वर्षीय आकाश भण्डारीले ‘श्री पाँच भण्डारी सरकार’को नामबाट फेसबुकमा विभिन्न ‘स्ट्याटस’ लेखेका थिए।
उनले फेसबुकमा ‘स्ट्याटस’ लेख्दै डिएसपी सापकोटालाई यसअघि तुलसीपुरमा कार्यरत रहँदा लागूऔषधको मुद्दामा मुछिएको तथा कारवाहीमा परेको व्यक्ति भएको आरोप लगाएका छन्। त्यसपछि डिएसपी सापकोटालाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले कारवाही गरेको भएपनि सापकोटा राजनीतिक आडमा बढुवा भएको उल्लेख गरेका छन्। तर डिएसपी सापकोटा तुलसीपुरमा प्रमुखको रूपमा आएपछि कुनैपनि उपलब्धिपूर्ण काम नगरेको तर युवाहरूको कपाल काट्ने र मुन्द्रा छेडाउनेजस्ता काम मात्रै गरेको आरोप लगाएका छन्।
भण्डारीले डिएसपीमाथि खोलाजन्य वस्तुको निकासीमा मिलेमतो र आर्थिक अनियमितता गरेको भन्ने आशयको आरोप लगाएका छन्। ग्वारखोलामा निकासी हुँदा डिएसपी केही पुलिस लगेर भमके खोलामा जाने गरेको आरोप उनले फेसबुक मार्फत लगाएका थिए। उनले अन्त्यमा ईप्रका प्रमुख सापकोटालाई ठूला माछा समाप्न सल्लाह समेत दिएका थिए।
फेसबुकमा मनपरी लेख्ने भण्डारी बुधबार तुलसीपुर बजारबाट पक्राउ परेको ईप्रका प्रमुख सापकोटाले बताए। आफूले भण्डारीका अभिभावकलाई छलफलका लागि ईप्रका बोलाएको जानकारी दिए। उनले भण्डारीविरुद्ध साइबर क्राईमसम्बन्धी मुद्दा चलाएर कारवाही गर्ने कि सार्वजनिक मुद्दा चलाउने भन्ने बारेमा त्यसपछि मात्रै निधो हुने बताए ।
सापकोटा पछिल्लो सयम तुलसीपुरमा प्रमुखको रुपमा आएपछि यसक्षेत्रमा शान्ति सुरक्षाको स्थिति सुद्रीढ बनेको स्थानीयहरु बताउँछन् । उनले तुलसीपुर आए लगतै जुवातास नियन्त्रण , बालुवा गिट्टीको अवैद्य उत्खनन्मा प्रयोग हुने साधनहरु धमाधम पक्राउ गर्न सुरु गरेका थिए । उनी मंसिरको अन्त्यतिर मात्रै तुलसीपुरमा सरुवा भएर आएका थिए ।