होलीमा शान्ति सुरक्षाको लागि दाङमा एक हजार ३० जना प्रहरी खटाइने भएको छ।
दाङकी प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले सो जानकारी दिएकी हुन्।
उनले होलीका दिन ठाउँ-ठाउँका चेकपोस्टमा चेक जाँच हुने हुँदा मर्यादित भएर होली मनाउन आग्रह गरेकी छन्। अपरिचित व्यक्ति र कसैको इच्छा विपरीत जबरजस्ती रंग नलगाउन उनले आग्रह गरेकी छन्। होली सामाजिक पर्व भएको हुँदा सबैले आपसी सद्भाव बाड्दै मनाउन आग्रह गरेकी उनले जबरजस्ती गर्नेलाई भने कारवाही हुने चेतावनी दिइन्
‘जबरजस्ती गर्नेलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएर कारवाही हुन्छ’–एसपी सिंहले भनिन्, ‘होलीको बाहानामा मादक पदार्थ सेवन गर्न, होहल्ला गर्न, बिना हेलमेट यात्रा गर्न कसैलाई अनुमति दिइने छैन।’
उनले होली रहरले खेल्नुपर्ने बताउँदै कसैलाई होली खेल्न बाध्य नपार्न आग्रह समेत गरेकी छन्।