दाङमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा परि एकजना नायब सुब्बाको मृत्यु भएको छ।
रुकुमको मुसिकोट नगरपालिकाका स्थायी बासिन्दा अन्दाजी ५० वर्षीय हरिबहादुर नेपालीको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
तुलसीपुरस्थित यातायात व्यवस्था कार्यालय राप्तीमा नायब सुब्बा नेपालीको झण्डै एक महिनाअघि जिल्ला समन्वय समिति दाङमा सरुवा भएको थियो। तर उनले अझै रमना बुझेर नयाँ कार्यालयमा हाजिर भए नभएको जानकारी भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवं एसपी दुर्गा सिंहका अनुसार तुलसीपुरबाट घोराहीतर्फ रा ३ प ८७७३ नम्वरको मोटरसाइकल चलाएर जाँदै गरेका नेपाली मंगलबार दिउँसो पौने तीन बजेतिर घोराहीको सर्रा चोक नजिकै दुर्घटनामा परेका थिए। नेपाली सुरूमा घोराहीबाट तुलसीपुरबाट आउँदै गरेको ना ६ ख ६२० नं.को ट्रकमा ठोक्किएको र त्यसपछि पछाडिबाट आउँदै गरेको रा १ त ८३५ नम्बरको ट्रयाक्टरले उनलाई ठक्कर दिएको प्रहरीले बताएको छ।
नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनलाई राप्ती क्षेत्रीय अस्पताल घोराही पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।