नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जका ८६ कर्मचारी छड्केमा परेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साले मगंलबार बिहान गरेको छड्केमा अस्पतालका अधिकांश डाक्टर, नर्स, प्राविधिक र प्रशासनतर्फका सय जना कर्मचारी अनुपस्थित थिए ।
प्रशासकीय अधिकृत ठाकुरराम भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयबाट गएको टोलीले अस्पतालमा चेकजाँच गर्दा ५३ जना डाक्टर, १० नर्स, १८ जना प्राविधिक कर्मचारी र प्रशासनका ५ कर्मचारी अनुपस्थित रहेको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रसाद सिंहले बताए।
उनले अस्पतालका डाक्टर तथा कर्मचारीहरू अनुपस्थित हुने गरेको व्यापक गुनासोपछि छड्के गरिएको बताए। ‘छड्केमा अधिकांश कर्मचारी अनुपस्थित रहेको पाइएको छ’ प्रमुख जिल्ला अधिकारी सिंहले बताए।
अनुपस्थित सबै कर्मचारीहरूलाई आवश्यक कारवाहीको लागि सम्बधित निकायहरूमा पत्राचार समते गरिएको उनको भनाइ थियो।