जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीहरूलाई प्रतिबन्ध लगाउने बताएका छन्।
मंगलबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्न लगायत अन्य वस्तुका सामान प्याकेजिङ गरिएका सामानमा प्रतिबन्ध लगाउने र नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध गर्ने बताए।
नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर आयात गरिएका सामानहरूमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको भन्दै अब आयात हुने सामानको ल्याब परीक्षण गरि तोकिएको मापदण्ड अनुरुप मात्र नेपाल भित्रने उनको दाबी छ।
उनले वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर हुनेले मात्र सवारी सञ्चालनमा ल्याउन पाउने बताए। हरियो स्टिकर टालेको सवारी साधन समेत प्रदूषणमय भेटिएको भन्दै अब त्यस्ता सवारी साधन परीक्षण गर्ने कर्मचारीको नाम समेत उल्लेख हुने र प्रदूषणयुक्त फेला परेमा सवारी धनी र कर्मचारीलाई समेत कारवाही गरिने हुने बताए।
त्यस्तै, वातावरणको ख्याल नगरि कानून मिच्दै निश्चित व्यक्तिले फाइदा लिइरहेको इट्टा भट्टाहरूलाई समेत वातावरणमैत्री बनाउने र गलत रहेकालाई तत्कालै कारवाहीको दायरमा ल्याउन लागेको बताए।
विश्वकै पाँचौ फोहर राजधानीका रूपमा परिचित काठमाडौंलाई अबको एक वर्षमा माक्समाण्डुबाट काठमाडौं बनाउनेतर्फ अग्रसर रहेको बताउँदै उनले हाल उपत्यकाभित्र २०, ४० रुपैयाँँमा प्रयोग भइरहेको माक्स मनको सन्तुष्टिका लागि मात्र प्रयोग भइरहेको र उपत्यकाको वातावरण अनुसार न्यूनतम २५ सयदेखि ३ हजार रुपैयाँको माक्स आवश्यकता रहेको समेत बताए।
वातवरण प्रदूषण गर्न लागिपरेका केही ठूला होटल उद्योगहरूलाई समेत कारवाहीको गरिरहेको र अन्यलाई समेत कारवाही गरिने उनले बताए।
एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरि वातावरण बिगार्नेहरूलाई कारवाहीको दायरामा ल्याउने र आवश्यकता अनुसार सरकारले कानूनी दायरमा रहेको उद्योगलाई वातावरणमैत्री उद्योगको विकासतर्फ लाग्ने बताए।
उनले फोहर गर्नेलाई समाजस्तरबाटै कारवाही गरिनुपर्ने भन्दै सभ्य र सफा समाज निर्माणमा स्वयम आफ्नो भूमिका सम्झे मात्र सफाइ अभियानले सार्थकता पाउने उनको भनाइ छ।
सञ्चारकर्मीहरूको जिज्ञासालाई पूणता दिँदै उनले मन्त्री मण्डलको विस्तार ढिलाइ हुनुमा थोरै मन्त्रालय र धेरै आकांक्षीहरू रहेकाले अब हप्ता दिनसम्ममा मन्त्री मण्डलले पूर्णता पाउने बताए।
सरकारमा समाजवादी फोरमको समेत सहभागी हुने बताउँदै तत्कालै संविधान संशोधन नभए पनि समयको आवश्यकता अनुसार संशोधनको प्रक्रिया अघि बढ्न सक्ने उनको टिप्पणी थियो।