जिल्ला समन्वय समितिले देउखुरी क्षेत्रका क्रसर उद्योग र अर्जुन खोलाको दोभानको अनुगमन गरेको छ।
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, उप प्रमुख श्रीधर शर्मा पौडेल र प्राविधिक टोलीले क्रसर उद्योग र ठेक्का भएको अर्जुन खोला दोभानको अनुगमन गरेको हो।
‘अनुगमनमा क्रसर उद्योगले आवश्यक कागजात बिना धेरै मात्रामा नदीजन्य सामग्री स्टोर गरेको फेला परेको छ’ जिल्ला समन्वय समितिका उप प्रमुख श्रीधर शर्मा पौडेलले भने ‘तत्काल कागजपत्र लिएर आउन क्रसर व्यवसायीलाई निर्देशन गरेका छौं।’
उनका अनुसार टोलीले सम्राट माइनिङ एण्ड कन्ट्रक्शन राजपुर २ वेला, पाण्डवेश्वर बालुवा प्रशोधन उद्योग कमानपुर र सुपरेश्वर बालुवा प्रशोधन उद्योग लमहीको अनुगमन गरिएको हो।
‘कहाँबाट नदीजन्य सामग्री खरिद गरेका हुन्? त्यसको कागजात उद्योगसँग छैन’ उपप्रमुख पौडेलले भने, ‘त्यसको बारेमा जिससले थप अध्ययन सुरू गरेको छ।’
नदीजन्य सामग्रीको दुरुपयोग भएको गुनासो आएपछि जिल्ला समन्वय समितिले अनुगमन थालेको छ। जिल्ला समन्वय समितिले जिल्लाका केही खोलाहरूमा ठेक्का दिएको छ । तर ठेकेदारहरूले ति क्षेत्रबाट समेत आवश्यक परिणामभन्दा धेरै मात्रामा नदीजन्य सामग्रीको उत्खनन गरेको गुनासो आएपछि अनुगमनलाई तीव्रता दिएको जिल्ला समन्वय समितिले जनाएको छ।