भूकम्प अति प्रभावित जिल्लाका ७० प्रतिशत लाभग्राही निजी आवास पुनर्निर्माणमा जुटेका छन्।
प्राधिकरणको सोमबारसम्मको तथ्याङ्कअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कूल ६ लाख ६७ हजार ६ सय ६२ मध्ये ६ लाख १० हजार ५ सय भूकम्पपीडितसँग अनुदान सम्झौता भइसकेको छ।
१ लाख २ सय ३६ घरको पुनर्निर्माण सम्पन्न भएको छ र ३ लाख ३२ हजार ३ सय २१ घर पुनर्निर्माण भइरहेको छ।
निजी आवास पुनर्निर्माणको समयसीमा तोकिएको र प्राविधिकहरू स्थानीय स्तरमा परिचालन गरिएकाले घर बनाउने लाभग्राहीको संख्या उल्लेख्य रूपमा बढेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बताएका छन्।
उनले भने, ‘हामीले स्थानीय जनप्रतिनिधि तथा लाभग्राहीसँग अन्तर्क्रिया गरेर पुनर्निर्माणका लागि थप प्रोत्साहन गरिरहेका छौं। त्यसैले आउँदो बर्खाअघि करिब ६० प्रतिशत लाभग्राहीलाई छानोमूनि ल्याउने लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौं।’
पाँच वर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते स्थापना गरेको प्राधिकरणले निजी आवास पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्राधिकरणले जनाएको छ।
यही अनुपातमा निजी आवास पुनर्निर्माणको काम अघि बढे आगामी बर्खाअघि करिब ६० प्रतिशत पुनर्निर्माण भइसक्ने प्राधिकरणको आंकलन छ।