कर्णालीबासीले प्रदेश नम्बर ६ को स्थायी राजधानी सुर्खेतलाई बनाउने प्रदेशसभाको निर्णयप्रति आपत्ति जनाएका छन्।
कर्णाली जनअधिकार मञ्चले सुर्खेतलाई नै प्रदेश नम्बर ६ को स्थायी राजधानी बनाउने प्रदेशसभा र प्रदेश सरकारको निर्णयप्रति आपत्ति जनाएको हो।
मञ्चले सुर्खेतलाई प्रदेशको राजधानी बनाउने सो निर्णय तत्काल फिर्ता लिन दबाब दिँदै बुधबारबाट कर्णाली अञ्चलका सबै जिल्ला तथा काठमाडौं, सुर्खेत लगायतका जिल्लामा मुख्यमन्त्री, मन्त्री तथा सम्पूर्ण प्रदेशसभाका सांसदहरूको राजीनामा माग गर्ने लगायतका साताव्यापी आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मञ्चका अध्यक्ष प्रकाश रोकायाले कर्णालीका जनतालाई अन्याय हुनेगरी निर्णय आएकाले त्यसप्रति आपत्ति जनाउनु परेको स्पष्ट पारे। उनले तत्काल निर्णय फिर्ता नलिए प्रदेश सरकार र सांसदहरूको राजीनामा माग गर्न पनि सबैमा आह्वान गरे।
मञ्चले ‘कर्णाली विशेष स्वायत्त प्रदेश’ स्थापना हुनुपर्ने माग गर्दै आएको छ। प्रदेशको राजधानी सुर्खेत बनाउने प्रदेश सरकारको निर्णय तत्काल खारेज नगरे कडा आन्दोलनमा जान बाध्य हुने मञ्चको चेतावनी छ ।