नेपाल प्रहरी आवासीय विद्यालयले आफ्नो ३४औं स्थापना दिवश मनाएको छ। शनिबार विद्यालय परिसरमा विभिन्न कार्यक्रम बिच स्थापना दिवस मनाएको हो।
नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती सीमा अर्यालले ३४औं स्थापना दिवसको उद्घाटन गर्दै खेलकुदलगायत विभिन्न क्षेत्रमा नतिजा प्राप्त गर्ने विद्यार्थी तथा शिक्षकलाई पुरस्कित गरिन्।
उत्कृष्ट खेलाडी, उत्कृष्ट विद्यार्थी, स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेता, उत्कृष्ट शिक्षक तथा प्रशिक्षकलाई शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र समेत वितरण गरिएको छ।
स्थापना दिवशमा बोल्दै अध्यक्ष अर्यालले प्रहरीको आवासीय विद्यालयले शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याएको चर्चा गरिन्। उनले नैतिक शिक्षामा आधारित शिक्षाको साथै शैक्षिक क्षेत्रमा स्थापित नवीनतम् सिद्धान्त, पद्धति र प्रविधिलाई बिद्यालयले अवलम्बन गरी विद्यार्थीको सर्वाङगीण विकासमा प्रयत्न गर्नुपर्ने बताइन्।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल नवीन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संगठनले विद्यालयलाई गर्ने मायाका कारण आज सबैले प्रहरी विद्यालय रोज्न थालेको बताए।
त्यसैगरी विद्यालय प्रमुख डीएसपी दिनेशराज मैनालीले विद्यालयले संगठनकै शिर उच्च बनाएको भन्दै आगामी दिनमा पनि विद्यालयले अझै प्रगती गर्नेमा आफू आश्वस्त रहेको बताए।
कार्यक्रममा स्काउट टीम लगायतका विद्यार्थीले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जीमन्यास्टिकलगायत सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।