दाङमा दुग्धजन्य पदार्थको मूल्यमा वृद्धि भएको छ । दाङ जिल्ला डेरी व्यवसायी संघ घोराहीको शनिबार बसेको बैठकले दुग्धजन्य पदार्थको मुल्यमा बृद्धि गरेको हो । संघले चार बर्षयता दुग्धजन्य पदार्थको मुल्य बृद्धि नभएको हुँदा किसानको मागलाई मध्यनजर गर्दै मुल्य बृद्धि गर्नु परेको बताएको छ ।
दुग्धजन्य सबै पदार्थहरुमा न्यूनत्तम दशदेखि सय रुपैंयासम्म वृद्धि भएको छ । यस अघि ६० रुपैंया प्रति लिटरमा किन्ने पाईले दूध अब प्रतिलिटर ७० रुपैंया भएको छ भने ७० रुपैंया प्रति लिटरमा पाइने दहिलाई उपोभोक्ताले अब ८० रुपैंया तिर्नुपर्नेछ । यस्तै प्रतिकिलो ६ सयको पनिर पन ६ सय ५० रूपैयाँ भएको छ। ९ सय रुपैंया प्रति किलोमा पाइने घिउको मुल्य एक हजार पुगेको छ भने मिठा दहीको मूल्य ९० बाट सय रुपैंया कायम गरिएको व्यवसायीहरुले जानकारी दिएका छन् ।
पछिल्लो मुल्य वृद्धिले आईसक्रिम, मिल्क सेक, लस्सिको मूल्यमा समेत वृद्धि भएको छ । बढेको मुल्य फागुन १५ गतेदेखि लागु हुनेछ। संघका अध्यक्ष इश्वरी घिमिरेको अध्यक्षतामा बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
यसैबीच बैठकले घोराही क्षेत्रमा रहेका सबै डेरी व्यवसायीहरुले प्रत्येक शनिबार मध्यान्ह १२ बजेदेखि बेलुका ५ बजेसम्म व्यवसाय बन्द गर्नुपर्ने निर्णय पनि गरेको छ । अटेरी गरे जरिवाना गर्ने निर्णय गरेको भएको अध्यक्ष घिमिरेले बताए । दाङमा करिब एक सय ३० वटा डेरी पसलहरु सञ्चालनमा रहेपनि रहेपनि संघमा ४२ डेरी पसल मात्र दर्ता छन् ।