हात्तीपाइले रोग विरुद्धको औषधी पढे लेखेका र जान्ने बुझ्नेहरुले नै खान नमान्ने गरेको पाइएको छ । दाङमा शनिवारदेखि सुरु भएको हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियानमा खटिएकी स्वास्थ्य स्वयमसेवक देवा बस्नेतले पढे लेखेको र जान्ने बुझ्नेहरुले नै औषधी खान नमान्ने गरेको सेतोपाटीलाई बताइन ।
‘ नपढेका मान्छेलाई हात्तीपाइले विरुद्धको औषधी नखुवाउँदा रोग लाग्ने खतरा हुन्छ भनेपछि उनीहरु सहजै खान तयार हुन्छन्, तर पढे लेखेका र शिक्षित भनाउँदाहरु खानै मान्दैनन्’, बस्नेतले भनिन् ।
चन्द्रोदय माविका शिक्षक हरि वलीले वान्ता हुने हुँदा आँफुले औषधी नखाने बताए । ‘कतिपयले धेरै आग्रह गर्दा नाइ भन्न नसेकर घर लगेर खान्छौं भन्दै औषधी लैजानु हुन्छ,तर केही लगेर फाल्ने गर्नुहुन्छ अधिकांशले बताउँछन् ’, त्यस्तै अर्की स्वास्थ्य स्वयमसेविका देवीका खड्काले भनिन् ।
जस्ले गर्दा राज्यको करोडौंको लगानी बालुवामा पानी समान भएको उनले बताइन । जनताको लागि आफुहरु खटिएको भएपनि 'हात्तीपाइले विरुद्धको औषधी खानुहोस्' भन्दा कतिपयले गाली समेत गर्ने गरेको स्वास्थ्य स्वयम सेवक मदन परियारले बताए ।
‘जत्ति सम्झाउँदा पनि हामी खाँदै खान्नौं भन्नुहुन्छ’,– स्वास्थ्य स्वएंम सेवक कल्पना सुनारले भनिन् ‘ एकजना बाजेले हात्तीपाईले रोगको औषधी खानुहोस भन्दा गाली गर्दै जानुभयो ।’ उनले आफुले अहिलेसम्म कुनै औषधी नखाएको र नखाने अडान लिएको सुनारले बताइन । औषधिले स्वास्थ्य समस्या हुन्छ भन्ने गलत बुझाईका कारण समस्या भइरहेको उनले बताइन । कतिपय स्थानमा औषधिसहित स्वास्थ्य स्वएंम सेविकाहरु सर्वसाधारणको लागि खटिएको भएपनि एकजनाले पनि औषधि खान नमानेको बताए ।
अन्धविश्वासले गर्दा समस्या – डा. सिंह
यसैबीच राप्ती अञ्चल अस्पताल तुलसीपुरका निमित्त प्रमुख विनोद सिंहले अन्धविश्वासका कारण मानिसहरुले हात्तीपाईले रोग विरुद्धको औषधी खान सर्वसाधारणहरुले नमान्ने गरेको बताएका छन् ।
‘पहिले एकदुई वटा घटना भएको हो, तर त्यो औषधीले गर्दा हैन लामोसमय देखिको विरामी गर्दा भएको पुष्टि भइसकेको छ’, डा. सिंहले भने । उनले हात्तीपाईले विरुद्धको औषधि सेवन गर्दा अलिअलि झमझम हुने भएतापनि त्यसले स्वास्थ्यमा कुनै हानि नगर्ने बताए । ‘ हात्तीपाइले रोग विरुद्धको औषधी भन्दा समाजमा एक किसिमको अन्धविस्वास जस्तै छ , तर त्यसले केही हानी गर्दैन । ढुक्क भएर सेवन गर्दा हुन्छ,’– निमित्त प्रमुख सिंहले थपे ‘ केही परेको खण्डमा राज्यले सम्पूर्ण बेहोर्ने भनिसकेको छ ।’
दाङमा ६ हजार मानिसमा हात्तीपाईलेको संक्रमण
दाङमा ६ हजार मानिसमा हात्तीपाईले रोगको संक्रमण रहेको पाइएको छ । हात्तीपाईले रोगको संक्रमण दर नघटेपछि दाङमा फेरि शनिवारदेखि औषधी खुवाउन थालिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका मलेरीया निरीक्षक कमल चन्दले हात्तीपाईले रोगको संक्रमण दर दाङमा नघटेपछि फेरि दुई बर्ष थप गर्नु परेको बताए । दाङको कुल जनसंख्याको ६ प्रतिशत नागरिकहरुमा हात्तीपाइले रोगको संक्रमण रहेको हुँदा त्यो न्यूनिकरणको लागि फेरि दुईवर्ष औषधि खुवाउने अवधि थपिएको उनले बताए । उनले दाङमा अझैं करिव ६ हजार मानिसमा हात्तीपाइलेको संक्रमण रहेको जानकारी दिए ।
६ बर्षसम्म नियमित औषधी खुवाउने कार्यक्रमले पनि संक्रमणको दर नघटेपछि फेरि दुई बर्ष थप गरिएको चन्दले बताए । अब आठौँ बर्षको लागि दुई वर्ष थप गरेर हात्तीपाइले विरुद्धको अभियानको सुरुवात गरिएको जनस्वास्थ्य कार्यालयका मलेरीया निरीक्षक चन्दले जानकारी दिए ।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालयले दाङले आगामी फागुन १२, १३ र १४ गते जिल्लाभरी नै हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु गरेको छ ।
करिब ६ लाख सर्वसाधारणलाई औषधी खुवाउने लक्ष्य लिइएको छ । त्यसका लागि करिब २ हजार ७ सय स्वयमसेवक र स्वास्थ्यकर्मी परिचालन गरिएको चन्दले जानकारी दिए । एक बर्ष पहिले दाङका साविक रामपुर, सिसहनिय र टरिगाउँ गाविसमा गरिएको परिक्षणमा ८० जनामा हात्तीपाइलेको संक्रमण भेटिएको र यो वर्ष पनि त्यो दर नघटेको चन्दले बताए । उनले हात्तीपाइले विरुद्धको औषधी धेरैले खान नमान्दा समस्या हुने गरेको भन्दै औषधीले कुनै असर नगर्नेमा ढुक्क भएर खान आग्रह गरेका छन् । ‘ भ्रम र हल्लाहरु चिर्न आवश्यक छ र त्यसका लागि सबैको सहयोग चाहिएको छ ’ चन्दले भने । कार्यक्रममा हात्तीपाइले रोग विरुद्धको औषधी दुई बर्ष मुनिका बालवालिका, गर्भवती, सात दिनको सुत्केरी, सिकिस्त बिरामीले भने खान नहुने सल्लाह दिइएको थियो । साथै औषधी खाली पेट नखान समेत स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् ।
तस्विर – हात्तीपाइले विरुद्धको औषधी खान रिक्सा चालकर्ला आग्रह गर्दै स्वास्थ्य स्वएमं सेवक देवीका खड्का ।
र अन्य विभिन्न स्थानमा औषधी खुवाउन बसेकाहरु ।
तस्विर – सेतोपाटी ।