नेपालबाट वर्षेनी तेस्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि सक्रियतापूर्वक कार्य गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालले अन्तर्राष्ट्रिय अवार्ड पाएको छ।
वर्ल्ड सिएसआर डेको अवसरमा भारतको मुम्बईमा यही फेब्रुअरी १८ तारिखमा आयोजित विशेष कार्यक्रममा संस्थाले ‘एनजीओ लिडरसीप अवार्ड’ प्राप्त गरेको थ्रि एन्जल्स नेपालले जानकारी दिएको छ।
सामाजिक क्षेत्रमा कार्यरत विश्वभरका १ सय १० वटा संस्थाहरूमध्ये थ्रि एन्जल्स नेपाललाई उक्त अवार्डबाट सम्मान गरेको हो। मानव बेचविखन विरुद्धमा थ्रि एञ्जल्स नेपालले सफलतापूर्वक कार्य गरेको इकोनोमिक टाइम्सले प्रकाशित गरेको थियो।
कार्यक्रममा थ्रि एन्जल्स नेपालका तर्फबाट संस्थाका प्रशासनिक सचिव विवेक शर्मा ढकाल, पर्वत थापा र रोशन प्रसाईं मुम्बई पुगेका थिए।
भारतको होटल ताज ल्याण्ड एन्डसमा आयोजित कार्यक्रममा संयुक्त राष्ट्रसंघ अन्तरगत यूनाइटेड नेसन्स सष्टेनेवल डेभलपमेण्ट फण्डका प्रतिनिधि, विश्वभरका सरकारी तथा गैरसकारी क्षेत्रमा कार्यरत संघसंस्थाका विशिष्ट व्यक्तिहरूको पनि सहभागिता थियो। यसैबीच एनजीओ लिडरसिप अवार्ड प्राप्त गरेपछि संस्थाले आज विशेष कार्यक्रम आयोजना गरी अवार्डको स्वागत गरेको छ।
संस्थाको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ नयाँगाउँस्थित प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा संस्थाका अध्यक्ष सारदा खत्री गौतम, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतम, वित्त निर्देशक मदन थापा विभागीय प्रमुखहरू लगायतले उक्त अवार्ड ग्रहण गरे।
सो अवसरमा बोल्दै संस्थाका कार्यकारी निर्देशक गौतमले अवार्डले मानव बेचविखनमुक्त नेपाल निर्माणका लागि संस्थालाई ठूलो प्रेरणा मिलेको बताए।
थ्रि एन्जल्स नेपालले विभिन्न दातृ निकायको सहयोगबाट आफ्नो कार्य निकै कठिनाइपूर्वक गरिहेको र हजारौँ व्यक्तिहरूलाई बेचविखनको चपेटामा पर्नबाट जोगाउन यो पुरस्कार देशकै लागि गौरवको विषय भएको संस्थाका अध्यक्ष शारदा खत्री गौतमले बताए।
सो अवसरमा संस्थाका सदस्य एवं कर्मचारीहरूबीच खुसियाली साटासाट गरिएको थियो ।