काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त सहर घोषणा गरिएको छ।
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महानगरलाई ‘हेल्दी सिटी’को रूपमा विकास गर्न धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त सहर घोषणा गरिएको जानकारी गराए।
धुम्रपान तथा सूर्तिजन्य पदार्थमुक्त सहर घोषणाबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न गएको असरलाई न्यूनीकरण गर्दै लैजाने अपेक्षा गरिएको छ। महानगरपालिकाले सूर्तिजन्य पदार्थको आयात, उत्पादन, विक्रीवितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण र नियमन गर्ने उद्देश्यले बुलुम्बर्ग फिलानट्रोपिजको सहयोगमा यो अभियान सुरू गरेको हो।
मेयर शाक्यले मुटु रोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, मधुमेहजस्ता प्राणघातक रोगबाट बचाउन पनि यस्ता अभियानमा संचालन गर्नु परेको पनि स्पष्ट पारे।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमै नेपालका महिलाहरू सबैभन्दा बढी धुम्रपान गर्ने गर्दछन्। नेपाल सरकारले धुम्रपान नियन्त्रण गर्दै लैजाने योजना अनुसार २०४९ सालदेखि नै सार्वजनिक रूपमा धुम्रपान गर्न निषेध गरेको छ। यो अभियानबाट महानगरपालिकामा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनमा उल्लेख्य कमी आउने विश्वास गरिएको छ।