२०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्काएको नेपाल प्रहरी विद्यालय साँगाको छात्रावास भवन नयाँ बन्ने भएको छ।
बिहीबार विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एआईजी माधव जोशीले विद्यालयमा पुरूष छात्रवास भवनको शिलान्यास गरेका हुन्।
२ करोड ७१ लाखमा बन्न लागेको अत्याधुनिक छात्रवास भवन एक वर्ष भित्रमा बनाइसक्ने विद्यालयको योजना छ।
भूकम्पपछि टहरामा बस्दै आएका विद्यार्थी एक वर्षपछि पक्की भबनमा बस्न पाउने भएका छन्।
झन्डै तीन वर्षयता विद्यालयको छात्रबास टहरामा थियो।
त्यसैगरी अबको केही दिनमा छात्रावास भवनको पनि शिलान्यास हुने प्रहरी आवासीय विद्यालयका प्रमुख डीएसपी दिनेश मैनालीले सेतोपाटीलाई जानकारी दिए। ‘भूकम्पपछि विद्यार्थीलाई टहरामा राख्नुपरेको थियो, टहरामा राख्नुपर्दा विभिन्न समस्या आउने गरेका छन्, तर पनि हामीले ब्यवस्था मिलाएर विद्यार्थीलाई खुसी बनाएरै राखेका थियौं,’ डीएसपी मैनालीले सेतोपाटीसँग भने, ‘ अबको एक वर्षमा त्यो समस्या समाधान हुने छ, बिहीबार पुरूष छात्रवास भवनको शिलान्यास भयो, अबको केही दिनमा महिला छात्रावास भवन पनि शिलान्यास हुन्छ।’
भूकम्पले पुराना भवन भत्काएपछि विद्यार्थीलाई टहरामा राखिएको छ।
कम्पुटर ल्याब, श्रव्य दृष्य भवनसहितको अत्याधुनिक पुस्तकालयभूकम्पले क्षति पुर्याएको विद्यालयको कम्पुटर ल्याब, श्रव्य दृष्य र पुस्तकालय भवन नयाँ र अत्याधुनिक बनेका छन्। नवनिर्मित भवनको एआईजी जोशीले बिहीबार उद्घाटन गरे।
‘भूकम्पले भवन भत्काएपछि हामीले टहरामा भए पनि विद्यार्थीलाई सेवा दिँदै आएका थियौं,’ विद्यालय प्रमुख डीएसपी मैनालले भने, ‘अब पक्की भवनमै विद्यार्थीलाई सर्वसुविधा प्रदान गर्नेछौं।’
मैनालीका अनुसार प्रहरी विद्यालयमा पहिलो पटक दैविउद्धार सामाग्रीसहितको भवनको उद्घाटन भएको छ।
‘दैवि उद्धार सामाग्री पहिले थिएन, त्यो आवश्यकतालाई मध्यनजर राख्दै हामीले सामाग्रीसहितको भवन स्थापना गरेका छौं,’ उनले भने।