नेपालमा दण्डहिनताले गहिरो रूपमा जरा गाडेको अध्ययन प्रतिवदेन सार्वजनिक भएको छ।
एम्नेष्टि इण्टरनेशनलले जारी गरेको विश्वको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमा नेपालमा दण्डहिनताले गहिरो जरा गाडेको उल्लेख गरिएको हो।
बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एम्नेष्टिको नेपाल शाखाले सत्य, न्याय र परिपूरण लगायतका मानव अधिकार उल्लंघनका घटनाहरू पुनः नदोहोरिने सुनिश्चित गर्नेतर्फ नेपाल सरकार र राजनीतिक दलहरू आफैँ अग्रसर नभएको प्रतिवेदनले देखाएको जानकारी समेत गराएको छ।
सुरक्षा फौजबाटै मारिएका नागरिकहरूबारे व्यापक अनुसन्धान गरी दोषीलाई कार्वाही गर्ने काममा सरकार र राजनीतिक दलहरू तयार नदेखिएको प्रतिवेदनले औंल्याएको एम्नेष्टि नेपाल शाखाकी अभियान अधिकृत अस्मिता सापकोटाले जानकारी दिए।
त्यसैगरी, एम्नेष्टिले नेपालले भूकम्प र बाढी पहिरो पीडितलाई आवासको अधिकार दिलाउन समेत असमर्थ रहेको जनाएको छ। संविधान संशोधन गर्न माग गर्नेहरूमाथि अत्यधिक बल प्रयोग गरिएको, श्रमिक अधिकार स्थापित गर्न नसकेको, यातना र दुर्व्यवहार अन्त्य गर्न नचाहेको पनि प्रतिवेदनमा औँल्याएको छ।
एम्नेष्टिले सन् २०१७ मा विश्वमै मानवता विरुद्धको अपराध बढ्न गएको पनि स्पष्ट पारेको छ। त्यसैगरी, दक्षिण एशियामा अभिव्यक्ति स्वतन्त्रतामाथि नै दमन गरिएको उल्लेख गरिएको छ। बंगलादेश, पाकिस्तानमा पत्रकार र मानव अधिकारकर्मीमाथि नै निशाना बनाउने अभियाननै संचालन गरिएको प्रतिवेदनले देखाएको पनि नेपाल शाखाकी अभियान अधिकृत सापकोटाले बताए।
एम्नेष्टि इण्टरनेशनलले हरेक वर्ष विश्वमा मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।