दाङमा एकजना महिलाको झारफुकको क्रममा मृत्यु भएको छ।
दंगिशरण गाउँपालिका वडा नम्बर ५ खल्लाचिस निवासी २५ वर्षीया डसनी चौधरीको झारफुकका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। झारफुकका क्रममा बिरामीको मृत्यु भएपछि प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्ररीगाउँ निवासी ४५ वर्षीय करण चौधरीलाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले बुधबार बिहान नौ बजेतिर झारफुकका क्रममा डसनी बेहोस भएपनि करणले मन्त्र उल्टो परेको भन्दै दिउँसो ३ बजे बिरामीको मृत्यु भइसक्दासम्म झारफुक गरेको खुल्न आएको बताए।
दिउँसो ३ बजेपछि तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल पुर्याएलगत्तै चिकित्सकले डसनीलाई मृत घोषणा गरेका थिए। तर, परिवारजनले मृतको शव खल्लाचिसस्थित घरमै पुर्याएका थिए। पछि गाउँले र घर परिवारले खबर गरेपछि प्रहरी गएर झारफुक गर्ने करण चौधरीलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार सामान्य बिरामी २५ वर्षीया डसनी चौधरीको झारफुक उनकै गाउँ दंगिशरण गाउँपालिका वडा नम्बर ५ खल्लाचिसस्थित सान्तुराम चौधरीको घरमा गरिएको थियो। करण चौधरीले आफूलाई झारफुक गरि रोग निको पार्ने ‘अर्चना बाबा’को सबैभन्दा राम्रो चेला भएको दाबीसहित बिरामीलाई अस्पताल लैजान नदिएर गाउँमै झारफुक गरेका थिए।
‘पुजारी हुँ’ भन्दै करणले डसनीको मृत्यु भइसक्दासम्म पनि झारफुक गरिरहेको खुल्न आएको छ,’ डिएसपी सापकोटाले भने। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। मृतकका पति राजेश चौधरीले ९ वर्षको र अर्काे ५ वर्षको छोरा रहेको बताए।