नेकपा माओवादी विप्लव समूहले घोषणा गरेको नेपाल बन्दका क्रममा मंगलबार पोखरामा विभिन्न ठाउँमा बम विस्फोट गराएको अभियोगमा कास्की प्रहरीले ३ जना पक्राउ गरेको छ।
पोखराका ४ ठाउँमा बम राखेको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ विजयपुर पुल नजिक प्रेसर कुकर बम विस्फोट हुँदा दुई जना घाइते भएका थिए।
पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ बस्ने नेकपा कम्युनिष्ट पार्टी विप्लव समूहका जनसरकार प्रमुख ५८ वर्षिय जगन भन्ने नन्दप्रसाद तिवारी, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ सराङकोट बस्ने अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका जिल्ला अध्यक्ष ६५ वर्षिय पुष्प कार्की र पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ नयाँ गाउँ बस्ने अखिल नेपाल क्रान्तिकारी निर्माण मजदूर संघका ४० वर्षिय खड्कबहादुर राई रहेका छन् ।
विजयपुर पुल नजिक राखेको प्रेसर कुकर बम विष्फोट हुँदा ड्यूटीमा रहेका प्रहरी जवान कुलबहादुर खत्री र रिपोर्टिङका खटिएका रेडियो गण्डकीको स्टेशन म्यानेजर घनश्याम पाण्डे छर्रा लागेर घाइते भएका थिए।
पक्राउ परेका उनीहरूलाई विष्फोटक पदार्थ मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।