सडक विस्तारको मारमा परेका काठमाडौं उपत्यकाका पीडितहरूले आफूहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।
सडक विस्तारपछि उचित क्षतिपूर्तिको व्यवस्था नगरिएको भन्दै उनीहरूले बुधबार माइतीघर मण्डलामा उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै नयाँ सरकारलाई पनि दबाब दिन सुरू गरेका हुन्। नयाँ सरकारले पनि आफूहरूको माग सम्बोधन नगरे कडा संघर्षमा जान बाध्य हुने काठमाडौं उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीले चेतावनी दिए।
उचित विकल्प तयार नभई सडक विस्तारको नाममा आफूहरूको बास समेत उठाएको भन्दै पीडितहरूले विगत २ वर्षयता सरकारविरुद्ध संघर्ष गर्दै आएका छन्। उनीहरूले नगर विकास प्राधिकरणले कामै नगरेको भन्दै तत्काल खारेज गर्न पनि माग गरे।
दबाब अभियानमा सहभागी वृद्धवृद्धाहरूले आफूहरूलाई बुढेसकालमा घरबारविहिन बनाएकाले सरकारविरुद्ध संघर्ष गर्नुपरेको बताएका छन्। स्थानीय नेताहरूले समेत आफूहरूलाई दुःख दिने गरेको पीडितको गुनासो छ।
सडक विस्तार गरेपनि त्यसको उचित क्षतिपूर्ति नपाएपछि काठमाडौं उपत्यकावासीले सरकार विरुद्ध संघर्ष गर्दै आएका हुन्। उनीहरूले संवैधानिक व्यवस्था अनुसार पनि बास बस्न पाउने नागरिकको हक खोस्ने अधिकार कसैलाई पनि नरहेको दाबी गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै आएका छन्।