दाङमा मोटरसाइकलको ठक्करबाट दुईजना पैदल यात्रु घाइते भएका छन्।
घाइते हुनेमध्ये एकजना प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीकी दिदी परेकी छन्। दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहका अनुसार घर्तीकी ७५ वर्षीया दिदी माया बुढा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी छन्।
सभामुख घर्तीले आफ्नै गाडीमार्फत दिदीलाई उपचारको लागि बुटवलतर्फ लगेको एसपी सिंहले बताइन्। राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको प्रारम्भीक उपचारपछि थप उपचारका लागि अन्यत्र लैजान अस्पतालले आग्रह गरेपछि दाङको कार्यक्रममा आएका घर्तीले घाइते दिदीलाई बुटवल लगेर गएका थिए।
घोराहीमा मंगलबार बादी महिलाहरूको कार्यक्रमलाई सम्बोधन गरेका सभामुखले (आज) बुधबार तुलसीपुर १२ स्थित एउटा पेट्रोलपम्प उद्घाटन लगाएका कार्यक्रमका अतिथि थिए।
सभामुखकी दिदी ७५ वर्षीया माया बुढाको टाउको, ढाड र खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ। उनी घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा बस्दै आएकी छन्।
यसैबीच, अर्की घाइते घोराही १५ निवासी ४६ वर्षीया मानकुमारी बोहरा भने उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ। पैदल हिँडिरहेका उनीहरूलाई घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ३ प ३५१९ नं. को मोटरसाइकलले घोराही १४ कपासी बगिया भन्ने स्थानमा मंगलबार दिउँसो सवा १ बजेतिर ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ।
ठक्करपछि फरार मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी ताराबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए।