स्थानीय टोले गुण्डादेखि राजनीतिकर्मी हुँदै हत्या अपहरणलगायत दर्जनौं आपराधिक घटनाका नाईके मनोज पुन बुधबार बिहान साढे तीन प्रहरी इन्काउण्टरमा मारिए।
रूपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुन ०६२–६३ देखि अपराध दुनियाँमा प्रवेश गरेका थिए। प्रहरीका अनुसार उनले ६३–६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टादेखि विकास निमार्णको काममा कमिसनको भाग खोज्न थालेका थिए।
टोलका युवाहरूलाई जम्मा गरी समूह बनाएर उनी जिल्लामा हुने सम्पूर्ण ठेक्कापट्टादेखि ढुंगा, गिटी, बालुवालगायतका खानी तथा कारखानामा हिस्सा खोज्थे।
पछि पुनले विस्तारै ठेक्कापट्टा व्यवसायीसँग सम्बन्ध बढाए। पछि तिनै ब्यवसायीलाई धम्काउँदै सेयर र कमिसन माग्न थाले।
त्यस बेला वाईसिएलको बिगबिगी थियो, माओवादी निकटका ब्यवसायीले वाईसिएलको मद्धत लिन थालेपछि पुनले वाईसिएलमा पनि आफ्नो पहुँच बनाउँदै वाईसीएल बने।
वाईसीएल प्रवेश पछि पुनको झनै रवाफ बढ्यो। समूह झनै ठूलो बनाए। वाईसिएल बिस्तारै सेलाउँदै गएपछि पुन एमाले निकट युथफोर्समा प्रवेश गरे।
स्थानीय नेतृत्वमा पहुँच बनाएर उनी युथ फोर्स रूपन्देहीको कोषाध्यक्षसमेत भए। युथ फोर्सको आडमा उनको गुण्डाराज झनै मौलाउँदै गयो।
अनुसन्धान अधिकारीका अनुसार रूपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीसँग मिलेर पुनले जिल्लाका सम्पूर्ण विकास निमार्णका ठेक्काबाट आर्थिक लाभ लिन थाले।
दुर्गा तिवारीकै कारण उनी युथफोर्स रूपन्देहीका कोषाध्यक्ष बनेका थिए। तर पछि उनीहरुको कुरा नमिलेपछि पुनलेनै तिवारीको हत्या गरे।
त्यसपछि फरार पुन भारतमै बसेर नेपालका दर्जनौ ब्यापारीसँग फिरौती लिने काम गरेका थिए। गत असोजमा राजधानीमा निमार्ण ब्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन हत्यामा पनि उनकै संलग्नता थियो।
पुनले पछिल्लो समय भारतीय अपराधीसँग सम्बन्ध बढाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
तिवारी हत्यापछि प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका उनी भारत भागेका थिए। त्यसबेलादेखि उनको अपराध यात्राले झनै सीमा पार गर्यो।
भारतीय अपराधी सञ्जालसँग मिलेर पुनले नेपालमा हतियार र लागूऔषधको समेत कारोबार थालेको प्रहरीको दाबी छ। प्रहरी उच्च स्रोतका अनुसार पुन गोवाको मर्दिममा फ्लाटनै भाडामा लिएर बस्ने गरेका थिए। जहाँ अन्य भारतीय अपराधी सञ्जालको पनि आउजाउ हुन्थ्यो। मनोजको मुख्य योजना पनि उतै बन्ने गरेका थिए।
पुनको खोजी गर्दै गएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्यो ठाँउ पत्ता लगाएपछि पुनले त्यो अखडा छाडेको प्रहरी स्रोतले जानकारी दियो। ‘पुन त्यती धेरै बुद्धिमानी होइनन्, धम्काएर रकम उठाउन र अपराधमा माहिर भए पनि प्रविधिमा प्रहरीलाई झुक्याउने खालको उनीमा खुवि छैन, तर उनी अरू कतैबाट परिचालीत थिए,’ प्रहरी उच्च स्रोतले सेतोपाटीलाई भन्यो।
आफ्नो सूचना प्रहरीलाई दिएको भन्दै बलुको हत्या २०७३ पुस ४ गते युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गरी चर्चा कमाएका पुनले २१ पुस २०७४ मा तिवारीका साथी बलु पौडेललाई गोली प्रहार गरे।
पौडेल रूपन्देहीको देवदहका फर्निचर व्यवसायी थिए। तिवारी हत्या पछि बलु र पुन मिलेर काम गर्थे, पुनको रुपन्देही कारोबार बलुनै हेर्ने गरेका थिए। ‘तिवारी हत्यापछि बलु र पुनको धेरै पटक आर्थिक कारोबार समेत भएको छ, उनीहरुको साझेदारीमा काम पनि हुने गरेको देखियो, प्रहरी पुनको जब नजिक पुग्यो बलुलेनै सूचना दिएको हुनसक्ने भन्दै उनको हत्या गरियो,’ स्रोतले भन्यो, ‘बलुको हत्या अन्य कुनै कारण भन्दा पनि सूचना प्रहरीलाई दिएको ठानेर पुनले हत्या गर्न लगाएका थिए।’