२०७२ भदौं ३ बजे सामाखुसीमा कुमार घैंटे प्रहरी इन्काउन्टरमा मारिएपछि पलायन भएका थिए, समिरमानसिंह बस्नेत।
मितको नाता जोडेका घैंटेसँग मिलेर चन्दा आतंक मच्याउन उनको प्रमुख भूमिका रहने प्रहरीले थाहा पाएपछि उनलाई पक्राउ गर्न अपराध महाशाखाले टोली नै खटाएको थियो। तर बस्नेत भने भाग्न सफल भएका थिए।
बस्नेतलाई भगाउन उनकी ठुलीआमाका छोरा डिएसपी कुमुद ढुंगेलले सहयोग गरेको भन्दै आलोचना भएको थियो।
घैंटे इन्काउन्टरपछि भारतको गोवा पुगेका बस्नेतको त्यहाँ मनोज पुनसँग भेट भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको थियो।
भारतमा बसेर रूपन्देहीका धनाढ्यहरुलाई तर्साएर उनीहरुले एकै दिन ८० लाखभन्दा बढी रुपैयाँ उठाउने गरेका थिए।
२०७३ असोज २३ गते गौरीघाटस्थित दिब्या पार्टी प्यालेसमा गुन्डा नाइके दाबा लामामाथि ३ राउण्ड गोली प्रहार भयो।
२०७३ साल पुस ४ गते रुपन्देहीमा युवा संघका जिल्ला अध्यक्षमाथि गोली प्रहार गरी हत्या भयो। २०७४ असोज २३ गते राजधानमै निर्माण ब्यवसायी संघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भयो।
गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए
२०७४ पुस २१ गते रुपन्देहीमा नै काठ व्यवसायी बसन्त पौडेलको पनि गोली हत्या भयो। यी सबै घट्नाको जिम्मा पनि मनोज पुन समूहले लियो।
गोली प्रहारबाट ब्यवसायीको हत्या हुने क्रम बढ्दै गएपछि प्रहरी मनोज पुन र समिरमानसिंह बस्नेतको खोजीमा लाग्यो। नेपाल प्रहरीले उनीहरु विदेशमा लुकेर बसिरहेको भन्दै इन्टरपोल गुहार्यो
गत मंसिर १७ गते समिरमानसिंह बस्नेत पक्राउ परे। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले उनलाई भारतबाट पक्राउ गरेर नेपाल ल्यायो।
प्रहरीसँग वयानको क्रममा बस्नेतले दुर्गा तिवारीको हत्यापछि मनोज पुनसँग विवाद भएको र आफूहरु छुट्टिएको वयान दिएका थिए।
गौचन हत्यामा पुनको नभइ आफ्नो समूहको सम्लग्नता रहेको उनले बताएका थिए।
पत्रकार सम्मेलनमा सिआइबीले उनको आवाज समेत सुनाएको थियो। गौचन हत्या काण्डमा मनोज पुनका सहयोगी भनिने सुटर श्याम गोम्बो पक्राउ परिसकेका छन्।
४ वर्षमा प्रहरीको ६ इन्काउन्टर, ५ को मृत्यु
बुधबार बिहान प्रहरी इन्काउन्टरमा मनोज पुनको मृत्यु भएपछि उनको ग्याङ सबै 'ध्वस्त' भएको प्रहरीले दाबी गरेको छ।
'उनलाई सघाउने मुख्य सुटर गोम्बो पक्राउ परिसकेका छन्, 'अपराध अनुसन्धानमा लामो समयसम्म काम गरिरहेका एक उच्च प्रहरी अधिकारी भन्छन्,'अर्का मुख्य सहयोगी सोम आले पनि मारिए, अव उनको गुन्डागर्दीको राज अन्त्य भयो।'
प्रहरीले मनोज पुन समूहलाई ध्वस्त पारेपनि समिरमानसिंह बस्नेतको समूहका मुख्य ४ जना अझै फरार छन्।
बस्नेत पक्राउ परेर जेल चलान भएपनि उनका मुख्य सहयोगी लोप्साङ लामा, गंगे भन्ने गंगाबहादुर राना, अम्बर राना, रोशन थापा चुनाैतीका रुपमा देखा पर्ने प्रहरी अनुसन्धानको गाेप्य अनुसन्धान उल्लेख रहेको एक उच्च प्रहरी अधिकारीले सेतोपाटीसँग भने।
यी चारै सबै दुर्गा तिवारीको हत्यापछि बस्नेत समूहमा आएका थिए। उनीहरुलाई बेला बेलामा मनोज पुनले पनि प्रयोग गर्ने गरेको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले मनोज पुनको समूह सबै सकिएको दाबी गरिरहेका बेला बस्नेत समूहका मुख्य सहयोगीहरु फरार छन् । उनीहरु नै नेपाल प्रहरीको लागि चुनौती बन्न सक्ने संभावना रहेको नेपाल प्रहरीका एक पूर्वएआइजीले भने।
'पहिला सबैभन्दा ठूलो समूह २ वटा थियो, एउटा पुन र अर्को बस्नेतको, 'ती पुर्व एआइजीले सेतोपाटीसँग भने, 'अब बस्नेत समूह सलवलाउन सक्छ, जेलमा बसेर बस्नेतले केटाहरु खटाउन सक्छन्।'
तर, प्रहरीले भने कुनै समूह सलवलाउन नदिने जनाएको छ। 'जो सलवलाउछन् त्यसको मनोज पुनको समूहजस्तै हालत हुन्छ, 'केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका एक प्रहरी अधिकारीले भने।