अरनिको राजमार्गअन्तर्गत तातोपानी फुल्पिङकट्टि जोड्ने लार्चाको निर्माणधीन बेलिब्रिज पुल भाँचिएको छ।
मंगलबार दिउँसो दुई बजे बेलिब्रिज पुललाई जोड्ने क्रममा 'अनब्यालेन्स' हुँदा पुल भाँचिएको हो। पुल भाँचिएपछि तातोपानी बाह्रबिसे चल्ने सवारीसाधन बाटोमै रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहनप्रसाद पोख्रेलले जानकारी दिएका छन्।
पोख्रेलका अनुसार अहिले पुल भाँचिएर ह्यमपाइप राखी सञ्चालनमा ल्याइएको सडकमा खसेका कारण बाटो अवरुद्ध भएको र बाटो खुलाउने प्रयास भैरहेको छ। गत साउन ९ गतेमध्ये रातमा पुलमाथि पहिरो खस्दा सो पहिरोबाट मोटरेबल पुलमा क्षति भएपछि अरनिको राजमार्ग अवरोध भएको थियो।
सडक सम्पर्कविच्छेद हुँदा तातोपानीबासीको पीडामा मल्हम लगाउन तत्कालै बेलिवृज निर्माण थालिएपनि सो पूरा भएको थिएन। यसबाट तातोपानीबासीले सास्ती भोग्दै आएका थिए।
अहिले निर्माणधीन पुललाई दुईतर्फ जोड्ने क्रममा एकपट्टी गह्रुंगो र अर्काेपट्टी हलुंगो भएर पुल व्यालेन्समा नहुँदा भाँचिएको हो। पुल निर्माणले गति लिन थालेपछि आशा गरेका तातोपानी फुल्पिङट्टिका स्थानीयले बेलिब्रिज भाँचिएर खसेपछि पुरानै पीडा दोहोरिने बताउन थालेका छन्। गत भदौदेखि निर्माण थालिए पनि अहिलेसम्म निर्माण कार्य पूरा गर्न सकेको छैन।