विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको बन्दका क्रममा डिउटीमा निस्किएको प्रहरी टोलीमाथि ढुंगामुडा भएको छ।
बन्दको पिकेट डिउटी परिचालन गर्न निस्किएको सशस्त्र प्रहरीको बा १ ग १८१३ नं.को ट्रकलाई आरती स्टिल अगाडि कोशी राजमार्गमा विप्लव माओवादीका कार्यकर्ताले ढुङ्गा प्रहार गरी अगाडिको सिसा फुटाई दिएका छन्।
उक्त घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाडादेवी-१ बस्ने मजदुर महासंको कोशी ब्युरो संयोजक ३० वर्षीय हरिचन्द्र खड्का र मोरङ बुढिगंगा-२ बस्ने बुढिगंगा सेक्रेटरी ६१ वर्षीय सुरेश राई रहेको प्रहरीले जनाएको छ।
यस्तै रूपन्देहीको कञ्चन गाँउपालिका-५ पिपरिचापास्थित भित्री सडकमा एउटा रोकिराखेको बसमा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्।
ना ४ ख ६८८० नं.को बसमा २/३ जना अपरिचित व्यक्तिहरूले ढुङ्गा हानी भागेको इलाका प्रहरी कार्यालय रूद्रपरले जनाएको छ। ढुंगा प्रहारबाट उक्त बसको ड्राईभर साईडको शिशा फुटेको छ। अन्य मानवीय क्षति केही नभएको प्रहरीले जनाएको छ।
यसैबीच बन्द गराउँदै हिँडेको २१ जना माओवादी कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौंका विभिन्न स्थानबाट ४ जना, मोरङबाट २ जना, सुनसरीबाट ६ जना, चितवनबाट २ जना, डोल्पाबाट १ जना र कपिलबस्तुबाट ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।।