सरकारले बेवास्ता गरेपछि प्रदेश नम्बर ६ सुर्खेतस्थित भेरी अञ्चल आयुर्वेद अस्पताल दयनीय बन्दै गएको छ।
सर्वसाधारणले यस अस्पतालको उपचार सेवाबाट सन्तुष्टि लिए पनि अस्पताल भने बजेटकै अभावमा दयनीय बन्दै गएको हो। विगत १५ वर्षयता औषधि बनाउने ४ वटा मेसिन बिग्रदा समेत सरकारले मर्मत गर्ने बजेटको व्यवस्था नगरेको अस्पतालका प्राविधिक सुकदेव आचार्यले जानकारी दिए। आचार्यका अनुसार अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेपनि त्यसलाई धान्न सक्ने गरी औषधि निर्माण गर्न मेसिनकै अभाव छ। एउटा मेसिन मर्मत गर्दै सञ्चालनमा ल्याउनु परेको अस्पतालले जनाएको छ।
अस्पतालका प्रमुख महेशकेशर खनालले बजेटको अभावमा बिरामीको लागि आवश्यक न्यूनतम औषधिको समेत व्यवस्था गर्न नसकिएको गुनासो गरे। उनले अस्पतालको शय्या १५ वटा पुर्याउने दुई वर्ष अघिको योजना समेत सरकारले बजेटको व्यवस्था गर्न नसक्दा अघि बढ्न नसकेको स्पष्ट पारे।
यता, सर्वसाधारणले अस्पतालको सेवासुविधा राम्रो भएको बताउँछन् । तर बजेटको अभाव हुँदा अस्पताल सञ्चालन गर्न नै समस्या हुँदै आएको अस्पतालको भनाइ छ।
अस्पतालले आवश्यक बजेटको व्यवस्था गर्न पनि प्रदेश सरकारलाई आग्रह गरेको छ। अस्पताललाई राम्रोसँग सञ्चालन गरे कर्णाली अञ्चलको जुडिबुटीको परिचालन गरी मुलुकलाई नै आर्थिक रूपमा टेवा पुर्याउने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ छ।