दाङको तुलसीपुरमा धुलो नियन्त्रणको माग गर्दै एक घण्टा चक्का जाम भएको छ।
आइतबार बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म स्थानीयले धुलो नियन्त्रणको माग गर्दै तुलसीपुर–घोराही सडखण्ड एक घण्टा बन्द गराएको स्थानीय सचिन पौडेलले जानकारी दिए।
तुलसीपुरको बरुवागाउँले कुलोदेखि हात्तिखौवा चोकसम्म फोरलेनको सडक निर्माण कार्य भइरहेको छ। तर, उक्त सडकखण्ड निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले छिटो काम नगर्दा आफूहरूको स्वास्थ्य जोखिममा परेको भन्दै स्थानीयहरू सांकेतिक विरोधमा उत्रिएका हुन्।
‘काम पोहोरसाल नै सकिनुपर्ने हो,तर अहिलेसम्म पनि सडक ठूलो भूकम्पले क्षतविक्षत भौतिक संरचना जस्तै सडकको अवस्था छ, जसले गर्दा आज सडक सुख्खा मौसममा धुलाम्मे हुने गरेको छ,’ पौडेलले भने। निर्धारित समयभन्दा निकै ढिला भइसक्दा सडकखण्ड निर्माणको काम पूरा गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनका लागि सांकेतिक विरोध स्वरूप चक्का जाम गर्नु परेको उनले बताए।
सडकखण्ड स्तरोन्नतिको नाममा भएको कालोपत्रे सडक भत्काउँदा झनै धुलो उड्ने अवस्था उत्पन्न भएको स्थानीय गोविन्द भण्डारीले बताए। ‘यो सडक आसपासमा घर भएकाहरू बसी नसक्नु भएको छ, यात्रा गर्न पनि सकिँदैन, बालबालिका र जेष्ठ नागरिकदेखि आम सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको छ। त्यसैले आन्दोलनमा उत्रिएका हौं,’ भण्डारीले भने।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाको आग्रहमा एक घण्टापछि चक्का जाम खोल्न सहमत भएका स्थानीयले सडक निर्माणको जिम्मेवारी लिएका सरोकारवालाहरूले चित्त बुझ्दो जवाफ नदिए सोमबारदेखि अनिश्चितकालिन आन्दोलनमा उत्रने चेतावनी दिएका थिए।
सडक निर्माणको जिम्मा पाएका व्यक्तिले लामो समय भइसक्दासम्म पनि काम पूरा नगर्दा धुलोका कारण त्यस क्षेत्रको सामान्य जनजीवन निकै कष्टकर बन्दै गइरहेको तथा व्यापार चौपट भएको भण्डारीले बताए। सडक खण्डमा धुलो नियन्त्रणमा लिनको लागि तुलसीपुर उपमहानगपालिकाले ट्याङकरबाट पानी हाल्ने सहमतिमा बाटो खोलिएको हो।
यसअघि पनि यो सडकखण्डमा स्थानीयवासी, स्थानीय सरकारले पानी हाल्दै धुलो नियन्त्रणको प्रयास गर्दै आएका थिए। तर, पछिल्लो समय पानी हाल्ने क्रम पनि रोकिएपछि सडकखण्ड धुलाम्मे बन्ने गरेको छ।