पुस अन्तिम साता महानगरीय प्रहरी वृत्त महाराजगन्जले असई सुमित सिटौलालाई पक्राउ गर्यो। लागूऔषध मुद्दामा कारबाही अघि बढाएको सिटौलासँग करिब १ सय ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ।
संघीय प्रहरी इकाई बागमतीमा कार्यरत सिटौला तालिमकै क्रममा प्रहरी एकेडेमी भित्र रहेको बेला पक्राउ परेका हुन्।
त्यस लगत्तै महानगरीय अपराध महाशाखाले हवल्दार जनक बोहरालाई चितुवाको छालासहित पक्राउ गर्यो। बैतडीका दुई साथीसँग मिलेर चितुवाको छाला बेच्ने क्रममा उनी प्रहरीको फन्दामा परे। जिल्ला वन कार्यालयले थुनामा राखेर उनीमाथि मुद्दा अघि बढायो।
महानगरीय प्रहरी वृत्त जनसेवाले पनि एक सिभिलमा काम गर्ने जवान खिलाराज मगरलाई लागूऔषध मुद्दा चलाएको थियो।
सिभिलमा काम गर्ने मगरले लागूऔषध कारोबारीसँग बरामद भएको लागूऔषध आफैं राख्ने र घुस लिएर उनीहरुलाई छाडिदिने गरेका थिए। बरामद भएको लागुऔषध अन्य दुव्र्यसनीलाई उनी आफैं बेच्ने गरेको थाहा पाएपछि नजसेवाले उनलाई पक्राउ गर्यो।
यसअघि २०७३ चैतमा महानगरीय प्रहरी वृत्त स्रोह्रखुट्टेका प्रहरी हवल्दार बलबहादुर मगर, प्रहरी जवान नवीन ढकाल र अजय गुरूङ बनाउँदै गरेको गहना ६४ तोला, नगद १३ हजार र चार वटा मोबाइल सेट लुटेको आरोपमा पक्राउ परे।
यी माथिका केही प्रतिनिधि पात्र मात्र हुन्। प्रहरीको नाम लिएर लुट्ने र ठग्ने गरेका थुप्रै घटना छन्। तर, प्रहरी नै संलग्न भएका घटना भने पछिल्लो केही समय यता मात्र सार्वजनिक हुन थालेको हो।
२०७३ चैत २ गते एक व्यापारी अपहरण गरी फिरौती लिएको अभियोगमा महाशाखमा कार्यरत सम्वत लामा र गौशाला वृत्तका सई सूर्यबहादुर थापा पक्राउ परेका थिए।
महाशाखाका एसएसपी दिवेश लोहनी अपराधमा संलग्न भइसकेपछि ऊ प्रहरी नभएर अपराधी भएकाले अपराधी सरह रहने बताउँछन्।
पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको ३३ केजी सुनसहित केही व्यक्ति पक्राउ परे। त्यसमा एसएसपी श्याम खत्री पनि मुछिए। सुनको तस्करीमा संलग्न विमानस्थलमा कार्यरत खत्री अहिले अदालतमा धरौटी बुझाएर छुटेका छन्।
चैतमै धनुषामा चोरीको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका थिए। जनकपुरको एयरपोर्टस्थित श्यामचोक नजिकै पैसा लुट्ने कार्यमा संलग्न रहेको आरोपमा हवल्दार धर्मेन्द्र पासवानलाई प्रहरीले पक्राउ गर्यो।
शान्तिसुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा कर्तव्य निर्वाह गर्ने प्रहरी नै पछिल्लो समय आपराधिक गतिविधिमा मुछिइरहेका छन्। यसले सिंगो संगठनको शाखमाथि गम्भीर प्रश्न उब्जिएको छ।
घटना नम्बर १
महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट र प्रहरी जवान पुष्कर शाह कात्तिक पहिलो साता पाँच लाख घुससहित रंगेहात पक्राउ परे।
उनीहरुले एक व्यक्तिलाई झुटो मुद्दा खडा गरेर २० लाख रूपैयाँ मागेका थिए। यही क्रममा पाँच लाख घुस लिँदालिँदै उनीहरू पक्राउ परेका थिए। पक्राउ परेका भाटले बालाजु वृत्तका तत्कालीन डीएसपी नवीनकृष्ण भण्डारीको निर्देशनमा काम गरेको खुलेपछि अख्तियारले कात्तिक २० गते चार जना प्रहरी अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
प्रहरी प्रधान कार्यालयले डीएसपी भण्डारी, असई चन्द्रसिंह भाट, सोही प्रकरणमा जोडिएका इलाका प्रहरी कार्यालय फर्पिङका हवल्दार मनोज यादव र महानगरीय प्रहरी प्रभाग बाल सुधार गृह ठिमीमा कार्यरत प्रहरी जवान पुष्कर शाहलाई निलम्बन गरेको छ।
घटना नम्बर २
त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुलबहादुर राई अवैध सुनसहित माघ १८ गते बालुवाटारबाट पक्राउ परे।
राईलाई केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध महाशाखाको संयुक्त टोलीले २० तोला अवैध सुनसहित नियन्त्रणमा लिएको थियो।
एयरपोर्टमा सादा पोसाकमा ड्यूटी अफिसरको रूपमा ड्यूटी गरिरहेका राईले कतारबाट परवेज आलमले ल्याएको अवैध सुन गोल्डेन गेटबाट पास गराएका थिए।
प्रहरी अनुसन्धान अनुसार त्रिभुवन विमानस्थलको रनवेबाट सिधै डोमेस्टिक टर्मिलनमा सुन लगेर राखेका राईले साँझ उक्त सुन आफ्नो डेरामा लिएर गएका थिए।
घटना नम्बर ३
माघ १५ गते कलंकीको सगुन होटलमा प्रहरी नायव निरीक्षक (सई) र एक जवानले जुवाखाल कब्जा गरेर ४ लाख ५० हजार लुटपाट गरे। बर्दीमै होटल पुगेका महानगरीय प्रहरी प्रभाग कलंकीमा कार्यरत सई मदनबहादुर मल्ल र प्रहरी जवान मनोहर बुढाले जुवाडेलाई लखेटेर पैसा लुटेर हिँडेका थिए।
प्रहरी स्रोतका अनुसार मल्लले ४ लाख ५० हजार लुटेका थिए भने प्रहरी जवान बुढाले १२ हजार नगद र मोबाइल लुटेपछि मोटरसाइकल चढेर फरार भएका थिए।
काठमाडौं प्रहरीले प्रहरी जवान मनोहर बुढालाई निलम्बन गरिसकेको छ भने प्रनानी मदन मल्ललाई विभागीय कारवाहीका लागि महानगरीय प्रहरी कार्यालयमा सिफारिस पत्र पठाएको छ। यसैबीच अनुसन्धानका लागि प्रनानी मल्ललाई महानगरीय प्रहरी कार्यालयमा तानिएको छ ।
चार महिनायता उपत्यकामा घटेका यी प्रतिनिधि घटनाबाट राष्ट्रसेवाको कसम खाएका प्रहरीका सिपाहीदेखि डीएसपीसम्म अपराध गरेरै भए पनि कमाउने मानसिकतामा लागेको देखिन्छ।
‘यस्ता घटना निरन्तर घट्नु सङ्गठनका लागि दुःखद् कुरा हो, किन यस्तो भइरहेको छ भन्नेबारे अध्ययन हुनु जरूरी छ,’ अपराध अनुसन्धानमा लामो समय विताएका पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालले सेतोपाटीसँग भने।
अर्यालले औँल्याए जस्तो प्रहरीले सङ्गठनभित्र यस्तो घटना बढे पनि अध्ययन थाल्न सकेको छैन। ‘घटनाको विशेष छानबिन समिति बनाउने त्यसपछि रिपोर्ट पेश गरेर संलग्नलाई निलम्बन या नसिहत दिनेभन्दा माथिको कारबाही अहिलेसम्म गरेको पाईँदैन,’ पूर्वडीआइजी केशव अधिकारीले भने,‘कतिपय अवस्थामा पहुँचवाला अफिसरले राजनीतिक दबाब दिएर त्यस्ता अपराधबाट सजिलै उन्मुक्तिसमेत पाउने गरेको उदाहरण भेटिन्छन्।’
सिपाहीले घुस खाए, असईले लागूऔषध
सेवाग्राहीलाई मदिराको लाइसेन्स बनाइदिन्छु भन्दै घुस मागेका मनोज माघ २० गते १० हजार नगदसहित अख्तियारको फन्दामा परेका छन्।
घटना माघ १८ गतेको हो। प्रहरीसँगै घुस माग्ने भक्तपुरको दधिकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान उमेशकुमार थापा १८ हजार नगदसहित पक्राउ परे। प्रहरी कर्मचारीको स्कुटर र ट्रिपर चालकबीचको दुर्घटना विवाद मिलाइदिन्छु भन्दै उनले घुस मागेपछि पीडित प्रहरीले अख्तियारमा सूचना दिएपछि थापा अख्तियारको प्रहरी टोलीकै फन्दामा परेका हुन्।
प्रहरी सहायक निरीक्षक रेशम खड्का महानगरीय प्रहरी कार्यालयको कन्ट्रोलमा काम गर्थे। तिनै खड्का माघ ८ गते बालाजुबाट ३ लाख घुस रकमसहित अख्तियारको नियन्त्रणमा पुगे।
एउटा सहकारी संस्थाको कागजात फिर्ता गर्ने प्रयोजनका लागि घुस मागेपछि उनलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
त्रिभुवन विमानस्थलमा कार्यरत हवल्दार जनक महरा बाघको छाला कारोबारमा संलग्न रहेको पाइएको छ। माघ ५ गते महानगरीय अपराध महाशाखाले उनलाई न्युरोडबाट बाघको छालासहित नियन्त्रणमा लियो।
बर्दीको आडमा बन्यजन्तुको छाला कारोबारमा रहेको प्रमाणित भएसँगै महानगरीय प्रहरी कार्यालयले उनलाई निलम्बन गरि अनुसन्धान अगाडि बढाएको छ।
बलात्कारीको मतियार बने प्रहरी हाकिम
यस्तो छ बलात्कारी–प्रहरी साँठगाँठ
प्रहरीका हाकिमलाई भने राजनीतिक साथ, १ वर्षमा ९४६ जना बलात्कारको शिकार
पछिल्लो समय दुई वटा घटना चर्चामा छन्- एउटा दरबारमार्ग बलात्कार प्रकरण र अर्को इटहरीको बलात्कार प्रकरण। यी दुई घटना चर्चामा आउनुको पछाडि एउटै कारण छ- रक्षक नै भक्षक।
हुन पनि बलात्कार जस्तो जघन्य अपराधको दुई वटै घटनामा प्रहरीको मिलेमतो देखिएको छ।
घटना १ – दरवारमार्ग बलात्कार प्रकरण
माघ ७ गते राति, काठमाडौंको दरवारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवती बलात्कारको शिकार बनिन्। त्यो पनि आफ्नै प्रेमी शैलेश कार्की र उनकै अरू तीनजना साथीहरुबाट।
घटना पछि मोटो रकमको डिल गर्दै घटना लुकाउने प्रयास भयो। केही दिनसम्म घटना गुपचुप नै राख्न अभियुक्तहरू सफल भए। तर घटनाको बास्तविकता बाहिरिएरै छोड्यो।
घटनाको बास्तविकता बाहिरिएसँगै दोषीलाई उन्मुक्ति दिन प्रहरीकै मिलेमतो भएको रहस्य खुल्यो। प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार प्रहरीले नै घटना गुपचुप राखेको आरोपमा अहिले,महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा छन्।
इन्सपेक्टर र सई मात्र होइन, वृत्तका इन्चार्ज डिएसपी तिलक भारतीलाई पनि बृत्तबाट हटाएर प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको छ।
यो घटनामा सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा ल्याण्डमार्क होटलका दुई कर्मचारी पक्राउ परेका छन्। मुख्य अभियुक्त सहित चार जना फरार छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले उनीहरूको खोजी भइरहेको बताए।
घटना २ – इटहरी बलात्कार प्रकरण
दरबारमार्गको बलात्कार घटनाको अनुसन्धान चलिरहेकै बेला इटहरीको हलगडाबाट अर्को घटना बाहिर आयो। १४ वर्षीया बालिका आफ्नै प्रेमी र उनको साथीबाट बलात्कृत भएको इटहरीको घटना पनि दरवारमार्ग सँग मिल्दो जुल्दो देखियो।
पुस १६ गते ईटहरी २ हलगडास्थित रोयल रिसोर्टमा बालिका आफ्नै प्रेमी जोकम लिम्बु र साथी मनिष श्रेष्ठबाट बलात्कृत भएकी थिईन्। लगत्तै यो घटना प्रहरीमा पुगे पनि प्रहरीले मिलेमतोमा गुपचुप राखेको थियो।
यो घटना बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयका एसपी विद्यानन्द माझी र इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बन गर्यो। ‘प्रहरीनै बलात्कार जस्तो जघन्य अपराधका अभियुक्त जोगाउन लाग्नु सामान्य घटना होइन, त्यसैले दोषीलाई नियम अनुसार कारवाही हुन्छ,’ प्रहरी प्रवक्ता मनोज नेउपानेले भने।
बलात्कारी जोगाउने प्रहरी हर्कत विडम्वना- पूर्वडीआइजी अधिकारी
बलात्कारीलाई जोगाउने प्रहरी हर्कत विडम्बनापूर्ण भएको पूर्व डीआइजी केशव अधिकारीले बताए। ‘दरबारमार्ग र इटहरीका दुई घटनामा देखिएको प्रहरी मिलेमतोले प्रहरीको शाखमाथि नै हिलो छ्याप्ने काम गरेको छ,’ उनले भने,‘७३ हजारभन्दा बढी जनशक्ति भएको प्रहरी संगठनको सदस्यबाट यस्ता हर्कत हुनु कदापी सोभनीय होइन। यसले प्रहरीमाथिको जनविश्वास घटाउँदै लैजान्छ।’
यस्ता घटनाले प्रहरी भित्रको कमजोरीलाई उदाङ्गो पारेको अधिकारीको तर्क छ। ‘दुई वटै घटनमा संलग्न प्रहरी अधिकारीलाई राजनीतिक संरक्षण छ। जबसम्म राजनीतिक संरक्षण हाबी हुन्छ तबसम्म प्रहरीको काममा सुधार आउँदैन। त्यसैले यसतर्फ प्रहरी नेतृत्वको ध्यान पुग्नु जरूरी छ,’ उनले भने।
प्रत्येक वर्ष ९ सय ४६ जना बलात्कार
गएको ७ वर्षमा मात्रै ६ हजार ६ सय २७ जना बलात्कारको शिकार भएको नेपाल प्रहरीको तथ्यांक छ। जसमध्ये ४ हजार ५ सय ८९ जनाको बलात्कारपछि उद्धार गरिएको छ भने २ हजार ३८ जनाको बलात्कारपछि हत्या गरिएको रेकर्डमा उल्लेख छ।
प्रत्येक वर्ष ९ सय ४६ जना बलात्कारको शिकार हुन्छन् भने प्रत्येक महिना ७८ जना पीडित हुने प्रहरी अनुसन्धान रिपोर्टमा उल्लेख छ। तथ्याङ्क अनुसार, पूर्वी नेपालमा सबैभन्दा धेरै १ हजार ३ सय ४३ जनाको बलात्कार तथा ५ सय ८९ जनाको बलात्कार पश्चात हत्या गरिएको छ।
त्यस्तै पश्चिम नेपालमा २ सय ७७ जना बलात्कारको शिकार भएका छन् भने १३८ जनाको बलात्कार पछि हत्या भएको छ। काठमाडौं उपत्यकामा मात्रै ६ सय १० जनाले बलात्कारको उजुरी दर्ता गरेका थिए। त्यसमध्ये १ सय ५५ जनाको बलात्कार पछि हत्या भएको छ।
कानुन अनुसार गल्ती प्रमाणित भएको र पीडित १० वर्षभन्दा मुनीको छ भने १० देखि १५ वर्ष जेल सजाय तथा पीडित १० वर्षभन्दा माथि र १६ वर्ष भन्दा मुनीको छ भने ७ देखि १० वर्ष जेल सजाय हुने प्रावधान छ। त्यस्तै, १६ वर्षभन्दा माथिको हकमा ५ देखि ७ वर्षसम्म जेल सजाय हुने प्रावधान छ।
तर, कानुन जति नै कडा भए पनि घटना झन् झन् बढिरहेको छ। विशेष गरी तराई तथा दुरदराजका ग्रामिण भेगमा बलात्कारको घटना बढ्दै गए पनि यस्ता धेरै घटना गुपचुप रहने गरेका छन्।
बलात्कारको घटनामा पीडित आफैंले पनि सामाजिक प्रतिष्ठा बिग्रने डरले सूचना लुकाउने गरेका छन्। पूर्व डिआइजी केशव अधिकारीका अनुसार घटना न्यूनीकरणका लागि प्रहरी अनुसन्धान बलियो र निश्पक्ष मात्र होइन, पीडित स्वयम् पनि जागरुक हुनुपर्छ। ‘बलात्कारका घटना न्यूनिकरणका लागि पीडित पक्ष पनि सतर्क हुनुपर्छ। तर, रक्षक नै भक्षक बनेको अवस्थामा भने घटना न्यूनिकरणको अपेक्षा गर्न सकिदैन। त्यसैले यसतर्फ कानुन कार्यान्वय गर्ने जिम्मेवारी लिएर बसेकाको ध्यान पुग्नैपर्छ,’ अधिकारीले भने।