ठेकेदारले सम्झौता गरेको समयमा निर्माण सम्पन्न गरेको योजना सायदै भेटिन्न। ठेक्का प्रदायक सरकारी तथा गैर सरकारी कार्यालयबाट ठेक्का लिने अनि योजनामा ठेकेदारले वेवास्ता गर्दा जिल्लाका कतिपय निर्माणका योजना अलपत्र परेका छन्।
ठेक्का स्वीकृत भएपछि योजनाको मोविलाईजेसन भन्दै ठेक्का रकमको २० प्रतिशतसम्म पेश्की ठेकेदारले लिन पाउने कानुनी प्रावधान छ। तर, पेश्की लिने अनि योजनामा फर्केर पनि नहेर्ने चलन ठेकेदारको पुरानै हो।
दुधे-शिवगञ्ज सडक आज भन्दा २ वर्षअघि कालोपत्रे हुनुपर्ने हो। तर ४ वर्ष बित्यो कालोपत्रे हुन सकेको छैन। सो सडक अहिलेसम्म धुलाम्मे छ। ठेकेदार बेखबर छन्। सरकार ठेकेदारलाई कारबाही गर्न चाहँदैन।
यसैबीच काठमाडौंको निलगिरी कन्स्ट्रक्सनलाई समयमै काम गर्न दबाब दिँदै स्थानीय सडकमा उत्रने भएक छन्।
यस्तै अर्को विकास निर्माणको योजना पनि कछुवाको चालमा छ। शिवसताक्षी नगरपालिका १ स्थित कमल खोलाको तटवन्धमा पनि ठेकेदारले मनोमानि गरे।
दुई वर्ष पुग्न लाग्यो तटवन्धको काम जस्ताको त्यस्तै छ। जनताको तटवन्धले सो योजना ठेक्का लगाएको हो। झापाकै विट्टी संजिव एण्ड व्रदर्श कम्पनिका संचालकद्धय न्युसन राई र डा. अजित शाहसँग २०७३ साल असार ३० गते सम्झौता भएको थियो। सम्झौतामा सो योजना २०७५ असार २० गते निर्माण सक्ने सम्झौता थियो।
चालु १९ महिनामा ठेकेदारले कमल खोलाका तटवन्धका लागि २२ प्रतिशत मात्र काम गरेको जनताको तटवन्ध कार्यलय गैडे माईधारका कार्यलय प्रमुख कैलास श्रेष्ठले बताए। ‘यो ढिलासुस्ती हो। कार्यलयले पटक पटक ठेकेदारलाई लिखित मौखिक रूपमा तागेता गरे पनि उनीहरूले टेरेका छैनन्,’ कार्यालय प्रमुख श्रेष्ठले भने।
कमल खोलाको पुल दक्षीणको पूर्वीतटीय क्षेत्रमा ७ सय मिटर लामो ढुँगे जालिसहितको बाँध निर्माणका लागि सरकारले बजेट विनियोजन गरी ठेक्का लगाएको थियो। तर ढिलासुस्तीले मौजुदा ५ महिनामा योजना सम्पन्न गर्न ठेकेदारलाई हम्मे हम्मे पर्ने जनताको तटवन्धले जनाएको छ।
दुई वर्षमा सक्ने योजना ५ महिनामै सक्दा गुणस्तर खस्कनेमा स्थानीय चिन्तित छन्। निर्माण कम्पनीसँग गुणस्तरको बारेमा कुनै सम्झौता नगर्ने कार्यालय प्रमुख श्रेष्ठले बताए।
ठेकेदारले कमल खोलाको तटवन्धका लागि ६७ लाख रुपैयाँ भुक्तानि लिएका छन्। तुलनात्मक रुपमा बुझेको रकम र गरेको काम हेर्ने हो भने २ प्रतिशत बढी काम ठेकेदारले गरेको पाईन्छ। तर २४ महिनामा निर्माण सम्पन्न गर्ने योजना १९ महिनाको अवधिमा २२ प्रतिशत मात्र सकेर अब ५ महिनामा ७८ प्रतिशत काम सम्पन्न गर्नेमा स्थानिय सशंकित भएका छन्।
पटक पटक तागेता गर्दा पनि सर्वसाधरणको जिउ धनको सुरक्षाका लागि निर्माण हुने तटवन्धमा ठेकेदारले चरम खेलाचीँ गरेको स्थानीयको आरोप छ।
जति बेला वर्षा सुरू हुने मौषम आउँछ ठेकेदार त्यही मौकामा खोलामा तटबन्धका लागि पस्ने गरेको स्थानीय नगेन्द्र बोहोराले जानकारी दिए। ‘विकास निर्माणमा यस्तो वेथिति कहिले सम्म हुनेहो?,’ उनले प्रश्न गरे।
कमल खोलाको बाँध निर्माणमा ढिलाई हुने हो भने धरमपुर, पारावारी, मंगलबारे लगायतका दर्जनौ गाँउ डुवान र कटानमा पर्ने स्थानीय चन्द्रविर नेम्वाङले बताए।
जनताले तिरेको करबाट निर्माण हुन लागेको बाँधमा हेल्च्याँक्राई नगर्न नेम्वाङले ठेकदारलाई सुझाए। अर्का स्थानीय नगेन्द्र वोहोराले दुई दिन भित्रमा कमल खोलाको तटबन्धमा ठेकेदारले काम सुरू नगरे स्थानीय सडक, अदालत र ठेक्का प्रदायक कार्यलय विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिए।
विट्टी संजिव एण्ड व्रदर्श कम्पनीले मावा नदिमा पनि निर्माणको हालत कमल खोलाकै जस्तो बनाईदिएको छ। ३ करोड ८६ लाखको लागतमा निर्माण हुने सो योजना पनि कमल खोलाको सम्झौता भएकै दिन सम्झौता भएको थियो। तर ठेकेदारको ढिलासुस्तीले मावा नदीका पीडितको पनि यस वर्षको बाढीले पुरानै हाल बनाइदिन सक्ने स्थानीयले बताए। यता विट्टी संजिव एण्ड व्रदर्श कम्पनिका प्रोपाईटर न्युसन राईले स्थानीयको चर्को दवाव पछि साता भित्रै कमल खोलामा बाँध निर्माण गर्ने बताए। ‘प्राविधिक कारणले यसअघि ढिलै भएको हो। अब युद्धस्तरमा काम गरेर तोकिएकै समयमा योजना निर्माण सम्पन्न हुनेछ,’ उनले भने।