कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका ११ नेपाली उतै लुकेपछि कोरियन दूतावासको उजुरीमा खलनायक राजेन्द्र खड्की प्रहरीको हिरासतमा छन्।
आफ्ना गुरूको डकुमेन्ट्री बनाउने क्रममा आफ्ना साथीहरूले धोका दिएकाले आफू जेलमा बस्नुपरेको खड्गीले बताए।
‘प्रहरी हिरासत मात्र होइन जेलमै राखे पनि म मेरो गुरूको डकोमेन्ट्री बनाएरै छोड्छु,’ सिआइबीको हिरासतमा रहेका खड्गीले सेतोपाटीसँग भने।
मानव बेचबिखनको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईवीको हिरासतमा रहेका खड्गीले आफूले जसरी भए पनि डकुमेन्ट्री बनाएरै छोड्ने दाबी गरे।
‘पहिला प्रहरीलाई मुख छाडेकोमा ५ दिन थुनामा परेको थिएँ, अहिले गुरूको डकुमेन्ट्री बनाउने क्रममा साथीहरुले धोका दिँद फेरि प्रहरी हिरासतमा आइपुगेको छु,’ खड्गीले भने।
आफूले जानेर कुनै पनि नराम्रो काम नगरेको दाबी गर्दै खड्गीले जानी जानी मानव तस्करी गरेर विदेश पठाउनेको लिस्ट आफूसँग सुरक्षीत रहेको बताए।
‘गुरूको सम्झनामा डकुमेन्ट्री बनाउने सपनाले घर बेचेँ, जिन्दगीभरको कमाई खर्च गरे तर साथीहरुले धोका दिए,’ उनले भने, ‘अहिले आएर प्रहरी थुनामा छु, मलाई मानव बेचबिखनको आरोप लागेको छ, तर पनि खुसी छु, किनकी मैले नराम्रो कर्म गरेको छैन।’
फटाहाहरू भागे कमाई गरेर घर पठाउँलान् तर आफ्नो हालत प्रहरी हिरासतमा भएको भन्दै उनले गुरुको डकोमेन्ट्री बनाउने सपना पुरा गरेरै छाड्ने अठोट लिए। ‘मैले केही गर्छु भन्दा नजानेर फसेँ, तर जानाजान मान्छे लिएर लापत्ता पार्नेहरू धेरै छन् उनीहरुको बारेमा पनि बोल्नेछु,’ खड्कीले भने।
‘नेपालका कुन चाँही ठूला बढाले मान्छे विदेश लगेका छैनन् र, ठूला कलाकारदेखि नेता र मन्त्रीलेसमेत मान्छे लिएर उतै छाडेको मैले देखेकै हो, सुरूमा अरुले लिएरै म त गएँ,’ उनले अगाडि भने।
कोरिया गएर उतै लुकेकाबाट आफूले एक पैसा पनि नलिएको दाबी खड्गीको छ। ‘कोरिया लुकेका ११ जनाबाट मैले एक पैसा खाएको छैन, उनीहरुले मेरा लागि भनेर एक पैसा पनि दिएका छैनन्, डकोमेन्ट्रको प्रोडुसर उनीहरू पनि हुन्, बिचैमा धोका दिए के गर्नू?’ उनले भने।
डकुमेन्ट्री आफ्नो कम्पनी मार्फत बन्ने भएकाले आफू उनीहरूको जमानी बसिदिएको उनले बताए।
यसैबीच डकुमेन्ट्री बनाउन सम्पूर्ण ब्यवस्था मिलाईदिने भन्दै कोरिया फिल्म एसोसियसनलाई ५० लाख रूपैया दिएका खड्कीले जानकारी दिए।
डकुमेन्ट्रीका बनाउन चाहिने आवश्यक सम्पूर्ण कागज आफूसँग सुरक्षित रहेको खड्कीको दाबी छ।
खड्कीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो।
उजुरी पछि मुख्य नाइके एवम् उनीहरुलाई कोरिया भिसा लगाउँदा जमानी बसेका खड्कीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको ब्यूरोका प्रमुख डिआईजी पुस्कर कार्कीले बताए।
विभिन्न कार्यक्रममा सहभागी भन्दै बिदेश लैजाने र उतै छोड्नेमा सरकारी मन्त्रीदेखि ठूला कलाकारको गिरोह नै सक्रिय रहेको सीआईवीको दाबी छ।
‘खड्की त एक नमूना मात्रै हुन् यसरी मान्छेलाई विदेश तस्करी गर्नेहरू धेरै छन् हामी अनुसन्धान गर्दैछौं,’ सीआईवी प्रमुख डीआईजी कार्कीले भने, ‘यताबाट भिआईपी र कार्यक्रमका सहभागी भएर विदेश जाने शणरार्थी भएर उतै बस्नेहरू धेरै छन्।’