गएको आइतबारदेखि काठमाडौं प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी पाएका एसएसपी विश्व पोखरेलले ५ सुरक्षा योजना अघि सारेका छन्।
काठमाडौं प्रहरी परिसरको जिम्मेवारी लिएपछि पत्रकार सम्मेलन गरी आफ्ना कार्ययोजना सार्वजनिक गर्ने प्रहरीको परम्परालाई तोड्दै एसएसपी पोखरेलले आफ्ना भावी योजना सार्वजनिक गरेका छन्।
यस अघिका काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले काठमाडौंको शान्ति सुरक्षा कायम गर्न नसकेको र उपत्यकामा प्रहरीहरू भ्रष्टाचारमा धमाधम समातिन थालेपछि गृहमन्त्रालयले धानुकलाई हटाएर एसएसपी पोखरेललाई काठमाडौं प्रहरीको जिम्मेवारी दिएको हो।
काठमाडौं प्रहरीको जिम्मेवारी लिएको २ दिनपछि एसएसपी पोखरेलले आफू मातहतका सबै प्रहरी अधिकारीलाई भेल पारि काठमाडौं प्रहरीमाथि लागेको धब्बा मेटाउन निर्देशन दिएका छन्।
एसएसपी पोखरेल सेतोपाटीसँग कुरा गर्दै भने, ‘७७ जिल्लाका नागरिक राजधानीमा बस्छन्, प्रहरीले के- कस्तो सेवा सुविधा दिएको छ?, र कसरी शान्ति सुरक्षा कायम गरेको छ? भन्ने कुरा हेक्का राख्छन्, पछिल्लो समयमा भ्यालीका धेरै प्रहरी अख्तियारको ‘स्टिङ अप्रेशन’मा परे, अब भ्यालीका प्रहरीले घूस नखाई काम गर्छन् भन्ने सन्देश दिने खालको काम गर्नेछु।’
अपराध नियन्त्रण र प्रहरी सेवालाई थप प्रभावकारी र पारदर्शी बनाउन एसएसपी पोखरेलले ५ ओटा योजना बनाएका छन्।
पछिल्लो ३ महिनाको अवधिमा मात्र राजधानीम बलात्कारदेखि लागूऔषध मुद्दामा प्रहरीले चलखेल गरेको धेरै घटना आएपछि एसएसपी पोखरेलले बुधबार मातहतका कमाण्डरलाई भेला पारी आर्थिक लाभ लिने खालका कुनैपनि कार्य नगर्न निर्देशन दिएका छन्।
एसएसपी पोखरेल भन्छन्, बलात्कारदेखि लागूऔषधका मुद्दामा प्रहरीले पैसा खायो भन्ने उजरी परे, अनुसन्धानबाट केही गडबडी पनि देखियो तर अब यस्तो हुँदैन, कुनैपनि प्रहरी कर्मचारीले आर्थिक लाभ लिएको थाहा पाएमा कारवाही हुन्छ, मैले गल्ती गरेमा पनि सिपाईले समाते हुन्छ भनेको छु त्यही अनुसार अघि बढ्छु।
त्यसैगरी, उपत्यकाको अपराध नियन्त्रण गर्न प्रभावकारी योजनासहित मात्र अघि बढ्ने आफ्नो तयारी रहेको उनले बताए।
‘अपराध नियन्त्रणबारे सबै कुरा खुलाउन मिल्दैन, हामीले केही योग्य रणनीति बनाएका छौं त्यही अनुसार अघि बढ्छौं,’ उनले भने। त्यस्तै, उपत्यका भरीका प्रहरी कार्यालयमा दैनिक के कस्ता उजुरी आए? दिनदिनैको डाटा राखेर अपडेट गर्ने उनको योजना छ।
यसका साथै, प्रत्येक महिनाको एक पटक भ्यालीका प्रत्येक प्रहरी कार्यालयले नागरिक सुनुवाइ गर्ने र सो क्षेत्रमा भएका काम कारवाहीका बारेमा जानकारी गराउने र नागरिकको गुनासोका आधारमा उठेका मुद्दालाई समेट्ने एसएसपी पोखरेललेको योजना छ।
त्यसैगरी, आफू मातहतका प्रहरी कार्यालयको प्रत्येक महिनामा निरीक्षण गर्ने, आवश्यक परेमा गोप्य रूपमा पनि निरीक्षण गर्ने उनको योजना छ।
‘प्रहरी सेवालाई प्रभावकारी बनाउन र अपराध नियन्त्रण गर्न प्रहरी लागेर मात्र हुँदैन त्यसमा नागरिकको साथ पनि चाहिन्छ’, एसएसपी पोखरेल भन्छन्।
पछिल्ला केही घटनामा प्रहरी चुकेको देखिएको बताउँदै त्यसमा सचेत नागरिकले आवाज उठाएका कारण केही सुधार भएको र प्रहरीमाथि लागेको आर्थिक चलखेलकोे धब्बा मेटाउने एसएसपी पोखरेलले जोड दिए।
एसएसपी पोखरेल यस अघि काठमाडौं प्रहरी परिसरमा एसपी हुँदा काम गरेका थिए ।