डब्लूडब्लूएफ नेपालको राष्ट्रिय प्रतिनिधिका लागि भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट डब्लूडब्लूएफ नेपालको प्रतिनिधिमा डा.घनश्याम गुरुङ चयन भएका छन्। यसअघिका राष्ट्रिय प्रतिनिधि अनिल मानन्धरको कार्यावधि समाप्त भै रिक्त हुन आएको राष्ट्रिय प्रतिनिधिको पदमा गुरुङ चयन भएका हुन्।
२० वर्ष अघि डब्लूडब्लूएफको आर्थिक सहयोगमा सञ्चालित कंचन्जंगा संरक्षण क्षेत्र आयोजनाका लागि नियुक्ति पाई सह-प्रवन्धकका रूपमा कार्य शुरू गरेका गुरूङ त्यस पश्चात लामो समयदेखि डब्लूडब्लूएफ नेपालमा बरिष्ठ संरक्षण कार्यक्रम निर्देशकका रुपमा कार्यरत थिए।
उनी डब्लूडब्लूएफ नेटवर्कको ‘स्नो लियोपार्ड च्याम्पियन’ का रूपमा पनि कार्यारत छन्। सामुदायिक वन्यजन्तु संरक्षणका लागि साझेदारी संस्थासँगको समन्वय र अन्तर्राष्ट्रिय निकायसँग साझेदारीमा गुरुङ अनुभवी छन्।
डब्लूडब्लूएफले खासगरी ठूला र लोपोन्मुख अवस्थामा पुगेका वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघ र हिउँ चितुवाको संरक्षण र अनुसन्धानमा नेपाल सरकारलाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।