बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वरमा हिन्दू धर्मावलम्बीको आराध्यदेव भगवान् शिवको नृत्य अवतार मानिने नटराजको मूर्ति अनावरण गरिएको छ ।
गलेश्वरमा रहेको १०८ शिवलिंगको बीचमा स्थापना गरिएको नटराजको मूर्तिको प्रदेशसभा सदस्य विनोद केसीले सोमबार अनावरण गरेका हुन्।
पोखरा उपमहानगरपालिका–१० का चन्द्रबहादुर, चेतबहादुर, हेमबहादुर, भीमबहादुर, सरिता र भीमकुमारी पुनले दिवंगत आमा भद्रशिला पुनको स्मृतिमा सो मूर्तिको स्थापना गर्नुभएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
तीन लाख ७५ हजारको लागतमा स्थापना गरिएको मूर्ति गलेश्वर दर्शनका लागि आउने भक्तजनका लागि थप आकर्षण बन्ने कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए।
मूर्तिको अनावरणपछि कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रदेशसभा सदस्य केसीले कालीगण्डकी कोरिडोरअन्तर्गत लुम्बिनी र मुक्तिनाथको केन्द्रमा पर्ने गलेश्वरको विकासमा समुदाय र कोषले महत्वपूर्ण योगदान गरेको बताए।
यसैबीच, आज शिवरात्रि पर्वको अवसरमा बिहानैदेखि गलेश्वरमा भक्तजनको चहलपहल बढेको छ । म्याग्दी, पर्वत, बागलुङ, मुस्ताङलगायत देशका विभिन्न ठाउँबाट आएका भक्तजनको भीड लागेको हो । गलेश्वरमा शिवरात्रि, बालाचतुर्दशी र साउन महिनाको सोमबारका दिन पूजाआजा गर्नेको घुइँचो लाग्ने गर्छ ।