औपचारिक अध्ययन पूरा गर्न नपाएका ललितपुर नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन्।
कारागारमा रहेका कैदीबन्दी मध्ये धेरैजना विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताए। पहिले अध्ययन गरिरहेकाहरूले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरूले समेत अहिले शुरू गरेका छन्।
कैदीबन्दी विद्यालय र कलेज तह दुवैमा अध्ययनरत छन्। जेलर केसी भन्छन्, ‘बाहिर हुँदा विभिन्न काम र पेशाले गर्दा पढ्न नपाएकाहरू पनि यहाँ फुर्सद हुँदा पढ्न थालेका छन्।’ कारागार प्रशासनले पनि कैदीबन्दीलाई फुर्सदमा बस्नभन्दा सीपमूलक काम र अध्ययनमा लाग्न प्रोत्साहन गर्दै आएको छ।
कारागारमा रहेका १९ कैदीबन्दी अहिले एसइइ परीक्षाको तयारी गर्दै छन्। प्रवेशिका परीक्षामा वर्षेनी झण्डै यही हाराहारीमा विद्यार्थी संलग्न हुने गरेका छन्। कारागारमा अध्ययन गर्न चाहनेहरूका लागि विद्यालय छ। विभिन्न तहमा अध्ययन गर्नका लागि कारागार प्रशासनले बन्दोबस्त मिलाएको छ।
यस कारागारमा झण्डै ८०० कैदीबन्दी छन्।