सरकारले भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान रकम दिने समयावधि थप गरेको छ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्प पीडितलाई आवास निर्माणका लागि प्रदान गरिने दोस्रो किस्ताको रकम वितरण गर्ने म्याद चैत मसान्तसम्म पुर्याउने निर्णय गरेको हो।
दोस्रो किस्ताको रकम चैत मसान्तसम्म लिन सक्ने निर्णय लिइएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले जानकारी दिए।बैठकमा प्रधानमन्त्री देउवाले भूकम्पपछिको पुनर्निर्माणको काम सन्तोषजनक ढंगले अघि बढेको भन्दै यही आर्थिक वर्षभित्र ५० प्रतिशत काम सम्पन्न भइसक्ने विश्वास समेत व्यक्त गरेका थिए।
बैठकले तेस्रो किस्ताको रकम यही आर्थिक वर्षभित्र वितरण गरिसक्ने योजना पनि बनाएको छ। निजी आवास निर्माणको काम यही आर्थिक वर्ष भित्र सक्ने गरी काम अघि बढाउने समयसीमा समेत तोकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले बताए। बैठकमा प्रमुख प्रतिपक्ष एमालेले भने समितिको निर्णय बिनानै भूकम्प पीडितलाई आवास निर्माणका लागि सरकारले १ लाख अनुदान रकम थप गर्ने निर्णय लिएको भन्दै आपत्ति जनाएको थियो।
प्राधिकरणका अनुसार हालसम्म दोस्रो किस्ता पाउने लाभग्राहीको संख्या २ लाख ३३ हजार ६ सय ७७ पुगेको छ। प्राधिकरणको अनुदान लाभग्राहीको सूचीमा ७ लाख ६७ हजार ७ सय ५ जना भूकम्प पीडित छन्। त्यसमा ५ लाख ८४ हजार ४ सय ६८ लाभग्राहीसँग अनुदान सम्झौता गरिएको पनि प्राधिकरणले जनाएको छ।
https://www.facebook.com/setopati/videos/1765661396837759/