जनकल्याण माध्यामिक विद्यालय दुधरास दाङले दानमा प्राप्त भएको नगद १९ लाख रुपैयाँ लिन अस्वीकार गरेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको जनकल्याण माविले स्थानीय सोना सिमेण्ट प्रालिको तर्फबाट प्रदान गरिएको नगद १९ लाख रुपैयाँ दान अस्वीकार गरेको हो।
उक्त विद्यालयले इञ्जिनियरिङ कलेज सञ्चालनार्थ आर्थिक सहयोग जुटाउने उद्धेश्यले माघ १८ गतेदेखि २५ गतेसम्म आयोजना गरेको श्रीमदभागवत ज्ञानमहायज्ञमा सोना सिमेण्टले उक्त दान दिन खोजेपनि रकम कम भएको भन्दै दान अस्वीकार गरेको छ। जनकल्याण माध्यामिक विद्यालय दुधरास दाङका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं आयोजित ज्ञानमहायज्ञमा संयोजक देवराज विश्वकर्माले आफ्नो विद्यालयदेखि २/३ सय मिटरको दूरीमा रहेको सोना सिमेण्ट प्रालिले सामाजिक दायित्व बापत तिर्नुपर्ने रकम कम भएको हुँदा १९ लाख रुपैयाँ नगद दान अस्वीकार गरिएको सेतोपाटीलाई बताए।
‘कम्तिमा एक करोडको हाराहारीमा दान हुनुपर्ने थियो,’– संयोजक विकले थपे ‘तर, सोना सिमेण्ट प्रालिका सञ्चालकले हामीसँग बार्गेनिङ गरे जस्तो, भिक मागेजस्तो र हेपे जस्तो गर्नुभयो, त्यसकारण हामीले १९ लाख रुपैयाँ दान लिएनौं।’ विश्वकर्माले सोना सिमेण्ट प्रालि बस्न नहुने स्थानमा (मानव) बस्तिमै बनेको भएपनि उसले छिमेकीलाई गर्ने सामाजिक दायित्व पूरा नगरेको आरोप लगाए।
‘विभिन्न व्यक्तिहरूलाई प्रभावमा पारेर उद्योगले मनपरी गर्दै आएको छ,यदि उसले हाम्रो अभियानमा साथ दिँदैन भने आगामी दिनहरूमा हामी पनि उसलाई साथ दिने छैनौं,’– नेकपा एमालेका नेता तथा तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्य समेत रहेका विश्वकर्माले चेतावनी शैलीमा सेतोपाटीलाई भने, ‘अब सोना सिमेण्ट मानव बस्तिबाट हटाउन आवश्यक छ।’
दान त स्वच्छिक हुनुपर्छ – हरि पाठकतुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासस्थित सोना सिमेण्ट प्रालिका प्रबन्धक हरि पाठकले भने दान स्वच्छिक हुनुपर्ने ठाउँमा ताकेरै एक करोड देऊ भन्नुलाई उचित मान्न नसकिने बताए।
‘१७ लाख ५१ हजार संस्थागत रूपमा थियो र कर्मचारीको तर्फबाट संकलित १ लाख ५१ हजार रुपैयाँ गरि कूल १९ लाख २ हजार रुपैयाँ सहयोग लगेर गएका थियौं, तर उहाँहरूले कम भयो भन्दै लिनु भएन,’ प्रबन्धक पाठकले सेतोपाटीलाई भने। प्राविधिक शिक्षालय खोल्ने भनेर हाम्रै ‘पेरिफेरी’मा सञ्चालनमा सुरू भएको महायज्ञमा सहयोग गर्नुपर्छ भन्ने धारणाले सोना सिमेण्ट उद्योग सहयोग लगेर गएपनि त्यसलाई आयोजकले कम भयो भन्दै स्वीकार नगरेको उनले बताए।
‘भोलि स्थानीयस्तरमै इन्जिनियर र दक्ष प्राविधिक उत्पादन भएमा उद्योगलाई पनि चाहिन्छ भन्ने मान्यताका साथ हामी सहयोग लिएर गएका थियौं, तर विद्यालय व्यवस्थापन समितिका अध्यक्षले त्यो कम भयो, एक करोड चाहिन्छ भन्नु भयो,’ प्रबन्धक पाठकले भने। उनले दान स्वच्छिक हुने भएपनि यति नै चाहिन्छ भनेर एक करोड चाहिन्छ भन्ने अडान लिनुलाई उपयुक्त नभएको उनले बताए। ‘यदि उहाँहरू हामी कहाँ सहयोग माग्न भनेर आउनु भएको भए पो हामीलाई यति नै चाहिन्छ भन्ने मागलाई जायजै मान्न सकिन्थ्यो होला,’–प्रबन्धक पाठकले अगाडि भने ‘हामी पो महायज्ञमा दान गर्न गएका थियौं र दान स्वच्छिक रूपमा गर्न पाउनु पर्ने होइन र ?’
हामीले दिएको सहयोगले उहाँहरूलाई प्राविधिक शिक्षालय स्थापना गर्नमा थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्धेश्यले आफूहरू सहयोग लिएर गएको पाठकले बताए। ‘नजिक भएरै हामी सामाजिक उत्तरदायित्व बोधका साथ सहयोगका लागि गएका थियौं र हामीले जिल्लाभर हुने यस्ता महायज्ञहरू तथा सामाजिक कार्यमा सहयोगहरू प्रदान गर्नुपर्ने हुन्छ, त्यसैले एक करोड देउ भन्नु सही हैन,’ पाठकले भने। उनले सहयोग गर्न गएर आफूहरूलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गर्न नसकेको बताए।
सबैभन्दा बढी दान कसले गरे ?
जनकल्याण माध्यामिक विद्यालय दुधरास दाङले इञ्जिनियरिङ कलेज सञ्चालनार्थ आर्थिक सहयोग जुटाउने उद्धेश्यले माघ १८ गतेदेखि २५ गतेसम्म आयोजना गरेको श्रीमदभागवत ज्ञान महायज्ञमा सबैभन्दा बढी ४० लाखसम्म दान एकै व्यक्तिबाट भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बघौसी निवासी खिमादेवी अधिकारीले कालोपत्रे सडकखण्डमा पर्ने ४० लाख बराबरको २ कठ्ठा जग्गा दान गरेकी हुन्। सबैभन्दा बढी नगद दान गर्ने व्यक्ति भने तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टीका अनोदकुमार देवकोटा रहेका छन्। उनले महायज्ञमा नगद १५ लाख दान गरेको महायज्ञका संयोजक विश्वकर्माले जानकारी दिए।
त्यस्तै, अन्य व्यक्तिहरूमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ भवानीदेवी शर्माले १६ लाख बराबरको १ कठ्ठा जग्गा, सोही ठाउँ निवासी गेहराज पौडेलले १५ लाख बराबरको १ कठ्ठा जग्गा, सोही ठाउँकै ऋषिराम रेग्मीले १० लाख बराबरको १ कठ्ठा जग्गा दान, घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा बस्दै आएको भएपनि तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मजगैंका स्थायी बासिन्दा चन्द्रबहादुर डाँगीले १५ लाख २५ हजार बराबरको १ कठ्ठा जग्गा दान गरेको महायज्ञका संयोजक विश्वकर्माले बताए। नगदतर्फ ४ देखि ५ लाखसम्म दान गर्ने दाताहरूको संख्या एक दर्जन बढी रहेको विश्वकर्माले बताए।
महायज्ञबाट दुई करोड ५० लाख दान संकलनजनकल्याण माध्यामिक विद्यालय दुधरास दाङले इञ्जिनियरिङ कलेज सञ्चालनार्थ आर्थिक सहयोग जुटाउने उद्धेश्यले माघ १८ गतेदेखि २५ गतेसम्म आयोजना गरेको श्रीमदभागवत ज्ञान महायज्ञबाट दुई करोड ५० लाख जति दान संकलन भएको जानकारी दिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं महायज्ञका संयोजक देवराज विश्वकर्माले सो जानकारी दिएका हुन्। उनले जिन्सी जग्गा जमिन र नगद समेत गरि उक्त परिमाणमा दान संकलन भएको बताए। १ करोड २८ लाख नगद र १ करोड १३ लाख बराबरको जग्गा दान भएको विश्वकर्माले जानकारी दिए।
तर, उनले अझै पनि रसिद संकलन कार्य जारी रहेको भन्दै नगद दान थपिने बताए। महायज्ञमा २० लाख जति खर्च आउन सक्ने विश्वकर्माले आंकलन गरे। महायज्ञमा प्रशिद्ध कथा वाचक दीनवन्धु पोखरेलले कथा वाचन गरेका थिए । कथा वाचक पोखरेलसहित भजन मण्डली र कलाकारहरूलाई झन्डै १० लाख जति प्रदान गरिएको विश्वकर्माले जानकारी दिए।