नेविसंघ स्याङजा पिएन क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको दुर्घटनामा परि मृत्यु भएपछि पोखरा पृथ्वीनारायण क्याम्पस गेट अगाडि तनाव उत्पन्न भएको छ।
प्रहरीले आन्दोलनकारी विद्यार्थीलाई तितरवितर पार्न ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ता तथा अन्य विद्यार्थीहरूले बिहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन्। विरोधमा उत्रिएका १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
विद्यार्थीले पोखरा १ बगर क्षेत्रमा बिहानैदेखि पोखराको नगर बस सञ्चालनमा अवरोध गरेपछि अहिले नगर बस चलेको छैन। पिएन क्याम्पस अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै केहीबेर मुठभेड समेत भएको थियो। प्रहरीले केही विद्यार्थीलाई नियन्त्रणमा लिएको नेविसंघ पिएन क्याम्पसले जनाएको छ।
दोषीलाई कडा कारबाहीको माग गर्दै नेविसंघ आवद्ध विद्यार्थीहरूले पोखराका २५ भन्दा बढी गाडीमा तोडफोड गरेका छन् भने उति नै संख्यामा गाडीका चाबी पनि नियन्त्रणमा लिएका छन्। सोमबार साँझ पिएन क्याम्पस गेट अगाडि नगरबसले ठक्कर दिँदा ढकालको मृत्यु भएको थियो।
घटनाको छानबिन र तत्कालै क्षतिपूर्तिको व्यवस्थापन नभएसम्म बन्द फिर्ता नहुने विद्यार्थीहरूले बताएका छन् ।